269Shares

नवलपुर, ४ कात्तिक
पोखरा भ्यूज । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)गण्डकी प्रदेश र सिजी (चौधरी ग्रुप) बीच सहकार्य सम्बन्धमा छलफल भएको छ ।

तालिम प्रदायक संस्था र रोजगारदाता संस्थाबीच कसरी समन्वय र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा बुधवार सिजी ग्रुप अन्तर्गतको सिजी पोलिटेक्निक छलफल भएको हो ।

छलफलका क्रममा सिटिइभिटीबाट उत्पादित जनशक्तिलाई सिजिले रोजगारीको अवसर सुनिश्चितता गर्नेबारे महत्वपूर्ण छलफल भएको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले रोजगारदाता संस्था र तालिम प्रदायक संस्थाबीच उचित तालमेल हुनुपर्ने बताउदै निकट भविष्यमै सिजी ग्रुपसँग सम्झौता (एमओयु) गरी अघि बढ्ने बताए ।

प्राप्त ज्ञान, सीप र व्यवहारमा एकरुपता नहुदाँ तालिमहरु औपचारिकतामा मात्र सिमित हुदै आएको तितो सत्यलाई मध्यनजर गर्दै अबका तालिमलाई रोजगारीसँग जोडने उद्देश्यले रोजगारदाता संस्थासँग समन्वय गर्न चाहेको आचार्यले बताए ।

आवश्यकता पहिचान गरी रोजगारमा जोडिन चाहेका र रोजगारमै रहेकाहरुलाई पनि सिटिइभिटीले तालिम प्रदान गर्ने र उत्पादित जनशक्तिलाई सिजिले रोजगारीको सुनिश्चतता गर्ने सामान्य सहमति बनेको र छिट्टै यसको व्यवहारीक पक्ष देख्न पाइने उनले जानकारी दिए ।

रोजगारदाता संस्थाकै माग अनुसारको जनशक्ति उत्पादनमा हामीले जोड दिएका छौँ जसमा आवश्यकताको पहिचान, जनशक्ति निर्माण र क्षमता अभिवृद्धि, पाठ्यक्रम निर्माण र परिमार्जन, सहभागी छनोट लगायत पक्षमा रोजगारदाता संस्थाकै सहयोग लिएर हामी अघि बढ्छौँ आचार्यले भने । यसले तालिम प्राप्त जनशक्तिलाई रोजगारसँग जोडन महत्वपूर्ण भूमिका निर्वाह हुने उनको भनाई थियो।

सोही क्रममा सीजीका एचआर सिनियर म्यानेजर नन्दकिशोर महतोले सिजि ग्रुपको धेरै क्षेत्रमा संग्लनता भएकाले यसलाई साझा प्ल्याटफर्मको रुपमा प्रयोग गर्न सकिने बताए ।


सिजी ग्रुपको आफ्ना धेरै उद्योग भएकाले सबै उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादन र उत्पादित जनशक्तिलाई रोजगार प्रदान गर्ने सम्बन्धमा सिटिइभिटीसँग एमओयु गरी दोहोरो साझेदारी गर्न तत्पर रहेको बताए ।

साथै उनले सिजि पोलिटेक्निक मार्फत सिजि इन्डष्ट्रियल पार्कलाई तालिम हबको रुपमा बिकास गर्न सकिने बताए । पार्क नेपालकै नमुना र सार्क क्षेत्रकै विशिष्ट इन्डष्ट्रियल पार्क भएकाले यसबाट अनुभव प्राप्त गरेका जनशक्तिले देशका विभिन्न संघ संस्था, उद्योगहरुमा सजिलै रोजगारीको अवसर प्राप्त गर्न सक्ने उनले दाबि गरे । ‘यहाँबाट उत्पादित जनशक्तिले विदेशमा पनि राम्रो अवसर पाउनेछन’ उनले भने ।

सिजि पोलिटेक्निकका प्रिन्सीपल शिवहरी ढकालले सिटिइभिटीले दक्ष जनशक्ति उत्पादन गरेको खण्डमा ती जनशक्तिलाई सिजि ग्रुपले रोजगारी दिन सक्ने बताए । ‘आवश्यकतामा आधारित तालिम भए त्यसको उचित व्यवस्थापनमा सिटिइभिटीलाई हामी साथ दिन तयार छौँ’ उनले भने । हामीसँग प्रशस्त स्रोत साधन पनि छ,तालिमलाई तालिमको प्याकेज प्राप्त भए तालिम हबको रुपमा बिकास गर्न सक्छौँ उनले भने ।
अबको समयमा आवश्यकता तालिम प्रदायक संस्था र रोजगार प्रदायक संस्थाबीच समन्वय गरी रोजगारमुलक र सीपमुलक कार्यक्रम सञ्चालन गरे यसको प्रभावकारी बलियो हुने उनको भनाई छ ।
छलफलमा नारायणी बहुप्राविधिक शिक्षालयका प्रमुख ईश्वरचन्द्र घिमिरेले नयाँ प्रविधि विकास भइरहेको अवस्थामा त्यही अनुसारको जनशक्ति उत्पादन गर्न नसक्दा रोजगारीको सहज अवस्था नबनेको बताए । बजारको माग अनुसार सिटिइभिटीले पाठ्यक्रममा नसमेटिएका विषयहरु क्रमश थप गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । साथै नारायणी बहुप्राविधिक शिक्षालयले सिजि ग्रुपसँग समन्वय र सहकार्य गर्न चाहेको उनले धारणा राखेका थिए ।
छलफलमा सिटिइभिटी र सिजि गु्रपका कर्मचारी तथा पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

269Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected