नवज्योति क्लबको वडास्तरीय भलिबल प्रतियोगितामा नौधारे युवा क्लब विजयी
- March 18, 2022
- 4392

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ अर्मला कालीमूढास्थित नवज्योति युवा क्लबद्वारा आयोजित वडास्तरीय भलिबल प्रतियोगितामा नौधारे युवा क्लब, रञ्जित प्रथम भएको छ । कूल २३ टिम सहभागी भएको प्रतियोगितामा सयपत्री युवा क्लब चौरा उपविजेतामा सीमित बनेको छ ।

विजेता टिमले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र हात पारेको छ भने उपविजेता टिमले २० हजार र मेडल प्राप्त गरेको छ । विजयी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङले पोखरामा खेल पर्यटनका प्रशस्त सम्भावना रहेको बताए ।
उनले पछिल्लो समय साहसिक खेलको विकास हुँदै गएकोमा खुशी व्यक्त गर्दै युवाहरुलाई सामाजिक क्षेत्रमा रचनात्मक काम गर्न सुझाउ दिए । ‘युवाहरु सामाजिक परिर्वतनका सम्वाहक हुन् । तसर्थ युवाहरुले सामाजिक परिर्वतनका लागि समाजमा रचनात्मक काम गर्नुपर्छ,’ उनले भने ।
यसअघि नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङले प्रथम पुरस्कारको प्रायोजन गरेका थिए । समाजसेवी राजु गुरुङले पनि द्वितीय पुरस्कारको प्रायोजन गर्दै क्लबलाई रु. २० हजार रुपियाँ प्रदान गरेका थिए भने नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङले रु. १० हजार, नेपाली काँग्रेस पोखरा १६ का सचिव एवं मातृशिशु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापाले रु. पाँच हजार सहयोग गरेका थिए ।
समापन कार्यक्रममा चन्दादाताहरुलाई माया चिनो प्रदान गरिएको थियो । क्लबद्वारा आयोजित यो सातौं संस्करण हो । कोभिड–१९ का कारण यसअघि दुई संस्करण कार्यक्रम स्थगित गर्नुपरेको थियो । यद्यपि पछिल्लो समय कोभिड नियन्त्रणमा आएपछि सातौं संस्करणको मेला सफलतापूर्वक सम्पन्न गर्न सकिएको क्लबका अध्यक्ष वैंश गुरुङले बताए ।






सम्बन्धित खवर















