
पोखरा भ्यूज
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फका सासंदको नाम टुंगो लगाएको हो ।
काँग्रेस स्रोतका अनुसार प्रतिनिधिसभासँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुंगिएको छ । यद्यपि प्रदेश १, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको नाममा भने सहमति भइसकेको स्रोतले बतायो ।
प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष को को पठाउने भन्ने विवाद थियो । संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो । सूची बनाउँदा नै क्रम मिलाएकाले यसमा धेरै विवाद थिएन । तर बढीमा तीन जना मात्र पठाउन पाउने भएपछि नाम टुंगो लगाउन सहज थिएन ।
प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवार, प्रकाशशरण महत र विमलेन्द्र निधि चयन हुँदा प्रभावशाली नेताहरु गोपालमान श्रेष्ठ, योगेन्द्र चौधरी र फरमुल्लाह मन्सुर समानुपातिक सांसद बन्न सकेनन् ।
आरजु र मञ्जु दुबै सांसद
महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएकी छन् । कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । प्रसाईं, गौतम र रावल संस्थापन इतर पक्षका हुन् भने बाँकी देउवा समूहका हुन् ।
आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम ९लिम्बू०, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ। बोखिम, राजभण्डारी र थापा मगर संस्थापनइतर समूहका हुन् ।
दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । सीता संस्थापनइतरका हुन् । मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । मुक्ता संस्थापन इतरकी हुन् । यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।














