
पोखरा भ्यूज
१० पुस, काठमाडौं । गठबन्धमा रहेका दलहरुबीच सरकार निर्माणका लागि प्रमुख पद बाँडफाँटबारे कुरा नमिलेपछि ओली निवास बालकोटमा भएको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे कसरी सैद्धान्तिक सहमति जुट्यो भन्ने धेरैको कौतुहल्ता छ ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा प्रमुख दल बाँडफाँटबारे भएको सैद्धान्तिक सहमति अनुसार राष्ट्रपति एमालेले लिनेछ । प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ ।
सोही सहमतिबमोजिम सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ । जब एमालेले प्रधानमन्त्री लिनेछ, सभामुख माओवादीले पाउनेछ ।
एमाले, माओवादी मिलेसँगै ५ प्रदेशमा पनि उनीहरुको सरकार बन्नेछ । जनमत पार्टी र नागरिक उन्मुक्ति पनि थपिँदा सातै प्रदेशसमा यो गठबन्धनको सरकार बन्नेछ । केन्द्र र प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री लगायतका पद बाँडफाँटबारे मंगलबार दलहरुबीच छलफल हुने समाचार स्रोतले बताएको छ ।














