13Shares

पोखरा भ्यूज
२४ माघ, ढाका। बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनल खेलमा भारतविरुद्ध ३-१ को फराकिलो अन्तरले जितसहित नेपाल फाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्‍यो । खेलको २१ औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तर ४७औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन् । कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् । अग्रता बनाएपछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३-१ को जित दिलाइन् ।पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।

नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्‍यो । भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो । हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ । तर यसअघिका दुई खेल हार्दै बाहिरिसकेको भुटानले बंगलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected