वृद्धाश्रममा अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउँछुः मन्त्री गुरुङ
- February 7, 2023
- 2493

पोखरा भ्यूज
२४ माघ, पोखरा । गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले पोखरा वृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा बृद्धाश्रममा स्थापना गरिएको मेडिकल ल्याबोटरीको मंगलबार उद्घाटन गर्दै मन्त्री गुरुङले स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री गुरुङ्गले असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार सरकारले जिम्मा लिनु पर्ने भएता पनि पोखरा बृद्धाश्रम जस्ता स्वयमसेवी संस्थाले सो कार्य गरेकोमा प्रशंसा गरे । ‘आश्रमलाई अत्यावश्यक पर्ने सरसफाईका सामाग्री, संचालनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गर्न मन्त्रालयले कुनै कसर बाकी राखिने छैन,’ उनले भने ।
हाल संघीय सरकारको अनुदान रकम उपलब्ध भए पछि आश्रमले ल्याबका स्वास्थ्य सामग्री खरिद गरेको कुरा आश्रमका अध्यक्ष तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव कुसुम केशव पराजुलीले जानकारी दिएका थिए । गत आर्थिक बर्षमा सामाजिक बिकास मनलयले ज्येष्ठ नागरिकहरुलाई लाग्ने अल्जाईमर रोग स्क्रिनिङ्ग टेष्ट कार्यक्रम संचालन गर्न रु.७ लाख बजेट बिनियोजन गरेको र उक्त कार्यक्रम सामाजिक बिकास कार्यालय मार्फत संचालन भएको छ ।
आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकहरुलाई पोखरा बृद्धाश्रममा ल्याएमा निशुल्क टेष्ट गरिने जानकारी समेत आश्रमका सचिव धर्म बहादुर तमुले दिएका थिए । यसै गरी ज्येष्ठ नागरिक तथा गृहिणिहरुलाई लक्षित गरी संचालन गरिएको आय आर्जन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो ।
आश्रमको लागि आवश्यक पर्ने १५ थरीका अचार उत्पादन र बढि भएको खाद्य पदार्थ बिक्री गर्न सकिने बताइएको थियो । आश्रमका सहकोषाध्यक्ष सुजन लामाले उक्त अवसरमा श्रृजनशील कार्यमा सहयोग पु¥याउनु हुने सहजकर्ता काशी गुरुङ्ग, कार्यक्रम संयोजक सीता काफ्ले, सहभागी मन्दीरा पराजुली लगायतले अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।





























