
पोखरा भ्यूज
६ असार, काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को इतिहासमा पहिलो पटक उपकुलपतिका लागि खुल्ला आवेदन माग गरिएको छ ।
नास्टको ऐनमा भएको व्यवस्था बमोजिम नै सिफारिस समितिले उपकुलपतिका लागि इच्छुक हुने व्यक्तिहरूले आफ्नो कार्ययोजना र बायोडाटासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई असार १० गतेसम्म बुझाउन भनेको छ ।
सिफारिस समितिले सार्वजनिक गरेको सूचनामा नास्टको उपकुलपति हुन इच्छुक व्यक्तिहरू विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्ति हुनुपर्ने उल्लेख छ ।
नास्ट ऐन,२०४८ को दफा १९को उपदफा (१क) मा उपकुलपतिमा हुने व्यक्तिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान गरेको हुनुपर्छ । इच्छुक व्यक्तिहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा आफूले पुर्याएको योगदान,विज्ञान तथा प्रविधि क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो कार्ययोजनासहित लिखित निवेदन दिन समितिले भनेको छ ।
उपकूलपति रिक्त भएको ७ महिनापछि सरकारले नियुक्ति प्रक्रिया सुरु गरेको छ । २०७९ सालको पुसमा सुनिलबाबु श्रेष्ठको कार्यकाल सकिएपछि नास्टमा उपकुलपति रिक्त छ ।
कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहकुलपतिको अध्यक्षतामा दुई जना प्राज्ञ सदस्य रहेको सिफारिस समित गठन गरेका छन् । नास्टको सहकुलपति शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री हुने व्यवस्था छ ।
सिफारिस समितिमा नास्टका प्राज्ञहरु समेत रहेका प्राध्यापकद्वय भरतमणि पोखरेल र शैलेन्द्रकुमार मिश्र सदस्य छन् । सिफारिस समितिले सिफारिस गरेका व्यक्तिहरूमध्ये कुनै एक जनालाई कुलपतिले उपकुलपति चयन गर्ने व्यवस्था छ ।











