
पोखरा भ्यूज
२६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको निधनपछि मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आफ्नै निवासको शौचालयमा अचेत अवस्थामा भेटिएका नेम्वाङलाई तत्कालै शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
आइतबार धरानको कार्यक्रमा सहभागी भएर फर्किएका नेम्वाङको शरीरमा ज्वरो देखिएपछि घरमा नै आराम गरी चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरेको समेत स्रोतले बताएको छ ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको आकस्मिक बैठकले नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मुन्धुम संस्कृति अनुसार उनको अन्त्येष्टि गरिने छ पारिवारिक स्रोतले बताएको छ।
हाल नेम्वाङको पार्थिव शरीरलाई नेकपा एमालेको मुख्यालयमा राखिएको छ । उनको पार्थिव शरीरमा विभिन्न राजनीतिक पार्टीका शिर्ष नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।











