27Shares

पोखरा भ्यूज
स्याङ्जा, १४ असोज । स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रका दुई वटा सडकलाई उच्च प्राथमिकतामा राखेको छ । स्याङ्जा र पर्वत अन्तर जिल्ला तथा भीरकोट र बिरुवा जोड्ने अन्तर पालिका सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेको हो ।

सघन शहरी विकास कार्यक्रम अन्र्तगत प्राप्त २० करोड बजेटबाट पूर्वाधर तर्फ बयरघारी-मोहनडाँडा पुलिभञ्ज्याङ हुँदै स्याङ्जा र पर्वत जिल्ला जोडिने सडक तथा बयरघारी-बानेथोक हुँदै बिरुवा पालिका जोडिने सडकलाई प्रथामिकतामा राखेको नगरपालिकाले जनाएको छ । दुबै सडकलाई झण्डै ७ करोड बजेट विनियोजन गरेको छ ।

“आर्थिक वर्ष २०७९/०८० मा अन्तर जिल्ला र पालिका जोड्ने उक्त सडक अन्र्तगत करिब ६ किलोमिटर पक्की तथा ढलान गरिएको थियो ।” नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले भने, “चालु आर्थिक बर्षमा समेत झण्डै ७ किलोमिटर पक्की तथा ढलान गर्ने लक्ष्य लिएका छौं ।”

शहरी विकास कार्यक्रमबाट करिब ७ करोड बजेट विनियोजन गरेको नगरपलिकाले स्याङ्जा-पर्वतको २३ र भीरकोट-बिरुवा २० किलोमिटर सडकलाई आन्तरिक श्रोतबाट ६ करोड बजेट सुनिश्चित गरेको छ । प्रदेश सरकारको समपुरक शिर्षकबाट मोहनडाँडा-पोखरेलाई ८० लाख, हेलु-खिलुङ्लाई ८० लाख र दार्सिङ्-जगतपुर केघा सडकलाई ८० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाको बजार क्षेत्रका झण्डै सबै सडकहरु कालोपत्रे गरेको भीरकोट नगरले अन्तर जिल्ला र पालिका जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताए । दुबै सडक मार्फत विशेष गरी कृषि तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरेको ढुङ्गानाले सुनाए ।

नगरको मुकाम भू-भागका सबै सडकहरु नगद लागत साझेदारीमा सरकारको ७० र नागरिकको ३० प्रतिशत लगानीमा नगरपालिकाले कालोपत्रे गरेको हो । नगरपालिकाले प्रत्येक वडामा निर्वाध रुपमा बाह्रै महिना सवारी साधन संचालनको पूर्वाधार तयार समेत गरेको छ ।

सडकलाई प्राथमिकतामा राखेको नगरपालिकाले सघन शहरी विकासको बजेटबाट आँधीखोला किनारमा निर्माणाधिन मन्दिर सहितको ताल र पार्क निर्माणमा झण्डै ४ करोड बजेट विनियोजन गरेको छ । नगर क्षेत्रबाट संकलित फोहोर प्रशोधन परिसरमा निर्माण गरिएको ताल तथा पार्क चालु बर्षमै निर्माण सक्ने तयारीमा नगरपालिका रहेको छ ।

संघीय विशेष अनुदान मार्फत आँधीखोला नदी नियन्त्रणमा ३ वर्षका लागि ५ करोड २ लाख बजेट विनियोजन भएको सुनाउँदै नगरका योजना अनुगमन तथा कार्यक्रम अधिकृत यामप्रसाद रेग्मीले भने, “नगरपालिकाले चालु आर्थिक वर्षमा नदी नियन्त्रण तर्फ १ करोड १५ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।”

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ७८ करोड ८२ लाख १६ हजार कुल बजेट विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये ५८ करोड १५ लाख १६ हजार चालु खर्च र २० करोड १७ लाख पुँजीगत खर्च छुट्टाएको छ । विनियोजित बजेट मध्ये स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा ठूलो हिस्सा खर्च हुने नगरपालिको जनाएको छ ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected