1Shares

प्रकाश डोटेल
स्याङ्जा, १७ असोज । स्याङ्जाको वालिङस्थित त्रियासीमा प्रदेशकै बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको छ । गण्डकीका ११ वटै जिल्ला लक्षित बीउ बिजन प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको हो । पछिल्लो २ आर्थिक वर्षको अवधिमा प्रशोधन तथा भण्डारण केन्द्र निर्माण भएको छ ।

२०४२ सालदेखि संचालित रेशम खेती विकास कार्यक्रमलाई विस्थापन गर्दै बीउ बिजन प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको कृषि श्रोत केन्द्र वालिङ्ले जनाएको छ । केन्द्र निर्माण भएपछि उन्नत जातको बीउ बिजन तयारीमा कृषकहरु आकर्षित भएका छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा करिब ४० लाखको लागतमा भण्डारण कक्ष र अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ३० लाखको लागतमा बीउ प्रशोधन केन्द्र निर्माण गएिको छ । प्रशोधन केन्द्रमा झण्डै ५२ लाखको लागतमा बीउ प्रशोधनका गर्न अत्याधुनिक मेशिन जडान गरिएको छ ।

स्थानीय स्तरमा बीउ तयार गर्दा उत्पादन र उत्पादकत्वमा बृद्धि नहुने भएपछि प्रदेश सरकारको अनुदानमा केन्द्र निर्माण गरिएको श्रोत केन्द्रका बाली विकास अधिकृत सुदिप रेगमीले बताए । केन्द्रमा हाल धान, गहुँ, मकै, दलहन, तरकारी तथा फलफूलका बीउ बिजन तथा बाली प्रशोधन गर्दै आएको अधिकृत रेग्मीले बताए ।

“केन्द्रमा बीउ बिजन प्रशोधन गर्न आउने कृषकको संख्यामा पनि ह्वात्तै बृद्धि भएको छ ।” अधिकृत रेग्मीले भने, “शुरुशुरुमा एक/दुई वटा कृषक समूह आउने गरेकोमा पछिल्लो समय १२/१५ वटा कृषक समूह बीउ बिजन प्रशोधन गर्न आउने गरेका छन् ।” धान रोपाइँ गर्ने पछिल्लो सिजनमा प्रदेशका अधिक कृषकको करिब ७० टन धानको बीउ प्रशोधन गरिएको रेग्मीले सुनाए ।

अत्याधुनिक मेशिन मार्फत बीउ बर्गिकरणकै सयममा गुणस्तर कायम राख्न आवश्यक पर्ने भिटामिन र बिषादीको एकमुष्ठ प्रयोग गरिन्छ । बीउको दिगोपन कायम गर्न, कृषकलाई लागतका हिसाबले उत्पादन बढाउन प्रशोधन तथा भण्डारण केन्द्र सहयोगी बन्नेमा कृषि विकास श्रोत विश्वस्त छ ।

गण्डकी प्रदेशमा उत्पादन हुने हरेक जातका बीउलाई न्यूनतम शुल्कमा प्रशोधन गर्न सकिने व्यवस्था केन्द्रले मिलाईएको छ । प्रशोधन मेशिन अत्याधुनिक भएकाले उपयुक्त जनशक्ति व्यवस्थापन गरेसँगै बीउ प्रशोधन गरिएको कृषि श्रोत केन्द्रले जनाएको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected