पोखरा भ्यूज
१२ कात्तिक,काठमाडौं । आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले सुनको मूल्य बढेको छ ।
कात्तिक एक गतेदेखि हरेक दिनजसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।
कात्तिक एक गतेदेखि सुनको मूल्य बढिरहेको छ । ३० असोजमा प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो ।एक कात्तिकमा सुनको मूल्य तोलामा १३ सयले बढेर एक लाख १३ हजार २ सय रुपैयाँ पुगेको थियो ।
कात्तिक २ मा पुनः ५०० रुपैयाँले बढेर सुनको मूल्य एक लाख १३ हजार ७ सय रुपैयाँ पुगेपछि यस वर्ष सुनको मूल्यले गत साउनको उच्च बिन्दु प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँको रेकर्ड तोडेको थियो ।