9Shares

पोखरा भ्यूज

पोखरा । पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका हुन् ।

“जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, प्रमुख आचार्यले भने, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गर्दछु ।” प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि सहयोग गर्न प्रमुख आचार्यले आह्वान समेत गरेका छन् ।

उनका अनुसार सहायता रकम महानगरका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी व्यवस्थापन गरिने छ । साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वैच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन् भने, अपुग रकम महानगरपालिकाको विपद्कोबाट व्यवस्थापन गरिनेछ ।

प्रमुख आचार्यका अनुसार पहिलो चरणको सहायता सामाग्री बोकेको ट्रक सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगर प्रहरीको उद्धार टोली शनिवार साँझ त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष साहारा प्रधान र वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य नेतृत्वको टोलीमा महानगरको जनस्वास्थ्य अधिकृत फूलदेव तिमिल्सीना, मेडिकल अधिकृत डा.तिलकमान सिंह भण्डारी, जनस्वास्थ्य निरीक्षकहरू लोकराज आचार्य र धर्मराज चौलागाई र सिनियर अहेव कुश्मराज सुवेदी रहेका छन् ।

यस्तै नगर प्रहरी नायव निरीक्षक सन्त बहादुर के.सीको नेतृत्वमा नगर प्रहरी जवानहरू रामचन्द्र वि.क, भुवन थापा, कमल परियार, गणेश पौडेल, टिका प्रसाद रिमाल, गङ्गाप्रसाद आचार्य र नर बहादुर गायक उद्धारका कार्यका लागि त्यस तर्फ प्रस्थान गरेका छन्। टोलीमा सञ्चारकर्मी विश्व सुवेदी र सरोज अधिकारी पनि सहभागी रहेका छन् । टोलीलाई महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीराज तिम्सिना, र निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य लगायतले बिदाइ गरेका थिए । उपप्रमुख गुरुङले टोलीलाई जिम्मेवार पूर्वक प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा खट्न निर्देशन दिएकी छन् ।

उद्धारका लागि आवश्यक सामाग्रीहरू लिएर गएको टोलीले स्थानीय अधिकारीहरूको समन्वयमा प्राथमिक उपचार सहित उद्धार र राहत व्यवस्थापनका कार्यहरू गर्नेछ । पहिलो चरणको राहत सामाग्रीमा लत्ताकपडा, ब्ल्याङ्केट, त्रिपाल र खाद्य सामाग्रीहरू लगायत पठाइएको महानगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जानकारी दिए ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected