0Shares

पोखरा भ्यूज
पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालले गण्डकी प्रदेश स्तरीय भेला आयोजना गरेको छ । पोखरा १७ विरौटास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा शनिबार भेलाको आयोजना गरिएको हो । भेलामा बोल्दै वक्ताहरुले गण्डकीमा पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालयमा बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पब्लिक क्याम्पसलाई राज्यको तीनै तहले सहयोग नगर्दा धरासायी बन्दै गइरहेको र यसका लागि विश्वविद्यालयको आवश्यकता रहेको औल्याएका छन् ।
भेलाको सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले पब्लिक कलेजमात्र नभई सरकारी र नीजि कलेजमै समस्या रहेको सुनाउँदै प्रदेशले स्थापना गरेको विश्वविद्यालयको औचित्य नै थाहा पाउन नसकेको धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय विद्यार्थीहरु देशको विश्वविद्यालय छाडेर विदेशीनुले ठूलो संकट आइरहेको उहाँको भनाई थियो । कुनै समय प्राविधिक विषयमा पढ्न होडबाजी चल्ने नेपालमा पछिल्लो समय विद्यार्थी नै पाउन मुस्कील हुँदै गइरहेको छ । देशको शैक्षिक नीतिमै गम्भिर ध्यानाकर्षण आवश्यक देखिएको छ उहाँको भनाई थियो । ‘मैले हामीले नै खोलेको गण्डकी विश्वविद्यालयको औचित्य के हो पत्ता लगाउन सकिरहेको छैन् । मैले विश्वविद्यालय संचालनका लागि २२ करोड रुपैयाँ विनियोजन गरेको छु । त्यहाँ एक विद्यार्थीको खर्च सात लाख रुपैयाँ आउने गर्छ । त्यहाबाट उत्पादित जनशक्तिको के काम हो भन्ने पनि मैले बुझ्न सकिरहेको छैन्’ उहाँले भन्नुभयो, ‘यो भनिरहँदा मलाई शिक्षा विरोधी पनि भन्लान्, शिक्षामा लगानी गर्न नखोज्ने मुख्यमन्त्री भन्ने आरोपपनि आउनेछ यो विषयमा चर्चा गर्दा नकरात्मक सन्देश आउँछ तर के हो भन्दा वर्तमान बजारलाई हेरेर प्रविधियुक्त शिक्षा हुनुपर्छ । अहिले बालुवामा पानी हाले जस्तो भइरहेको छ ।’
गण्डकी प्रदेशभरका पब्लिक विश्वविद्यालयको अनुसन्धानका लागि तत्कालै अध्ययन कार्यदल गठन सम्भव रहेको र त्यसका लागि संस्थागत रुपमा आउनु अनुरोध गर्दै संघीय संरचनामा रहेको शिक्षा पद्धती वेवारिसे भएको बताउनुभयो ।
पोखरा विश्वविद्यालयका उपकुलपति तथा पुर्व पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण अर्यालले पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालय हुन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले पछिल्लो समय तराई भेगमा विश्वविद्यालय खोल्ने बढ्दो प्रतिस्पर्धाले समेत देश डुब्ने सुनाउँदै व्यवस्थित तरिकाले विश्वविद्यालय खोल्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशका क्याम्पस प्रमुखहरुको तर्फबाट बोल्दै शिवालय बहुमुखी क्याम्पस पर्वतका क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले पब्लिक क्याम्पसमा पुर्वाधार भएपनि विद्यार्थीहरु नभईको गुनासो पोख्नुभयो । पब्लिक क्याम्पसप्रति विद्यार्थीहरुको चासो घट्दै जाँदा निकै समस्या खेपिरहेको उहाँले सुनाउनुभयो । पब्लिक क्याम्पसलाई तीन तहका सरकारले अपहेलना गरेको उहाँको भनाई थियो । वैकुण्ठ न्यौपानेले पब्लिक क्याम्पसहरुको विश्वविद्यालय आवश्यकता रहेको औल्याउनुभयो । पब्लिक क्याम्पसमा विधार्थी, शिक्षक र संरचना भएपनि संस्थागत विकास हुन नसक्दा भविष्य नै अन्योलमा रहेको बताउनुभयो ।
भेलामा मुख्यमन्त्री पाण्डेलाई विभिन्न मागहरुसहित मागपत्र समेत बुझाइएको छ । साथै भेलामा विभिन्न प्राध्यापकहरुलाई सम्मान समेत गरिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected