4Shares
काठमांडौ 
राष्ट्रिय सभामा १९ सिटका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन कार्यालयका अनुसार कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । तर, कोशीमै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला भने विजयी भएका छन्। उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्। सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भएका छन्। मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् ।
बागमतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।
गण्डकीमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भए। यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए। कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका छन् ।  
सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका हुन् । सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो। सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्य रहेकामा ५ सय ४६ जनाले मतदान गरेका छन् ।
यस्तै पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।  चर्चामा रहेका तीन जना स्वतन्त्र मेयर बालेन्द्र शाह, गोपी हमाल र हर्क साम्पाङ राईले भने मतदान गरेनन् । 
आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज निर्वाचन भएको हो।
4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected