0Shares

पोखरा भ्यूज
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु गराउन दबाब दिने उद्देश्यले आइतवार पोखरामा सार्वजनिक सभा आयोजना हुने भएको छ ।
उक्त सार्वजनिक सभाको आयोजना राष्ट्रिय नागरिक अभियान कास्की र स्वतन्त्र पत्रकार संघ कास्कीले गरेका हुन् ।
अभियानका संयोजक विनय यादवले पोखरावासीको ठूलो लगानी, सिङ्गो पोखराको गौरवको योजना निर्माण भएर सञ्चालनमा आइसक्दा पनि अन्तर्राष्ट्रिय उडानका लागि राज्य निदाएकाले ब्यूझाउन सभा आयोजना गरिएको बताए ।
सभाको मुख्य उद्देश्यारे प्रकाश पार्दै उनले थपे, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूणर्रूपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भ्रष्टाचार छ भने छानविन गर यो बाहेक कार्यक्रमको अर्को उद्देश्य छैन ।’
सभामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, अग्रज पत्रकार युगनाथ शर्मा पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र पर्यटनविज्ञ वासुदेव त्रिपाठी वक्ताका रूपमा रहेको स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले जानकारी दिए ।
सभापछि वक्ताबाट आएका धारणा र समग्र पोखराबासीबाट संकलन गरिएका सुझावलाई सरोकारवाला निकायलाई बुझाइने आयोजक संस्थाले बताएको छ ।
सभामा पोखराका सबै क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको र उनीहरूबाट सुझाव मात्र संकलन गरिने अभियानका सदस्य सुनिल धामी बताउँछन् ।
सभामा उपस्थित हुन नसक्नेलाई लक्षित गरेर उक्त सभालाई एभिन्यूज टेलिभिजन, रेडियो सफलता, एभरेष्ट एफएम र नेपाल आज युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारणसहित सञ्चालन गरिने स्वतन्त्र पत्रकार संघका सहसचिव डिआर काफ्ले बताउँछन् ।
यस अघि अभियानले पोखराको सभागृहबाट पृथ्वीचोकसम्म दबाब र्‍यालीसमेत आयोजना गरेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected