3Shares

पोखरा भ्यूज
पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गरेका हुन् । ५ दिनसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुनेछ ।
प्रतियोगिता उद्घाटनपछि उपाध्यक्ष गुरुङले खेलाडी उत्पादनमा प्रतियोगिताको भूमिका उत्कृष्ट रहने बताए । प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिदैं आफ्नो तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन भेट्रान्सतर्फको ४ खेल भएको प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए ।
पहिलो खेलमा एक्स एबिसीले अर्चलबोटलाई ६९-३३ स्कोरले पराजित गर्‍यो । दोस्रो खेलमा लामाचौरले रामबजारलाई ५४-४३ ले हरायो । त्यसपछिको खेलमा लामाचौरले सात गाउँ पुन मगर समाजलाई ५४-४६ ले जित दर्ता गर्‍यो । भने, अन्तिम खेलमा अर्चलबोटलाई कास्की भेट्रान्सले ५६-४२ ले जितेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए ।
बुधबार भेट्रान्सतर्फ सात गाउँ पुन मगर समाज र रामबजारबिच पहिलो खेल हुनेछ । भने त्यसपछि पुरुषतर्फका खेल हुने उनले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected