अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन उर्जा तथा पूर्वाधारमा जोड दिदै ५८ करोड ९५ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखिएको बताइन् ।
गाउँपालिकाले आव २०८१/८२ का लागि चालुतर्फ रु ४२ करोड ५१ लाख ६३ हजार र पूँजीगत तर्फ १६ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विषयगत समिति अन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी दिँदै उनले पूर्वाधार विकासतर्फ रु ११ करोड ६६ लाख, आर्थिक विकासतर्फ १ करोड ६२ लाख ५१ हजार, सामाजिक विकासतर्फ ३३ करोड ६२ हजार विनियोजन गरिएको जानकारी दिइन्।

त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु ६३ लाख ५० हजार, सुशासन तथा संस्थागत विकासमा ६५ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ९ करोड र वडा समितिको पूजिगत खर्च २ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले सामाजिक र आर्थिक रुपान्तरण मार्फत समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माण गर्न, कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी गाउँपालिकालाई कृषि उत्पादनमा आत्म निर्भरताका साथ निर्यात गरी आयआर्जनको माध्यम बनाउनका बजेट छुट्टाएको छ । त्यस्तै, पर्यटन क्षेत्रको बिकास, पर्यटन प्रवर्धन मार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई पर्यटनको माध्यमबाट समग्र गाउँपालिका बासीको आर्थिक स्तर अभिवृद्धिगर्ने लक्ष्य लिएको छ ।
कृषि, पशुपालन, पर्यटन, निर्माण र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागी गराई रोजगारका अवसर सिर्जना गरिने विषयलाई बजेटमा समेटिएको छ। कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गर्दै कृषिको आधुनिकीकरण एवं व्यावसायीकरण गर्न प्रोत्साहित गरिने लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
बजेटमा गाउँपालिकाभित्र पूर्वाधार विकास अन्तर्गत बाटोघाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राख्नुका साथै लक्षित वर्ग तथा समुदायको सशक्तीकरण, खानेपानी, पर्यटन प्रवद्र्धन, स्थानीय रैथाने जातको संरक्षणका साथै खाद्य सुरक्षा तथा खाना संरक्षण कार्यक्रम लगायतलाई जोड दिएको छ । समृद्ध अन्नपूर्ण सुखी अन्नपूर्णबासी जनता भन्ने अभियानलाई सार्थक बनाउनका लागि श्रम, सिप, प्रबिधि र पुँजीको ब्यबस्थित परिचालन गर्न बजेटको व्यवस्था गरेको छ ।बजेटको पूर्ण पाठ
https://annapurnamunkaski.gov.np/sites/annapurnamunkaski.gov.np/files/budget%20final_merged.pdf

