एजेन्सी
गाजा । इजरायलले गाजाको एक विद्यालयमा आक्रमण गरेको छ । इजराइलको सो आक्रमणमा परी ९३ जनाले ज्यान गुमाएका छन् । आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको छ । उनीहरु विद्यालयमा आश्रय लिएर बसेका थिए । इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरहरुमा आक्रमण गर्दै आएको छ । आश्रय स्थलमा लाखौं व्यक्तिहरुले आश्रय लिइरहेका छन् ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ । कार्यालयका अनुसार शनिबार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको छ । यी आक्रमणबाट अधिकांश निर्दोष सर्वसाधारण मारिएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार जारी युद्धमा ३९ हजार ६९९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ९१ हजार ७२२ जना घाइते भएका छन् । गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत विस्थापित भएका छन् ।
गत ७ अक्टुबरमा हमास र केही प्यालेस्टिनी चरमपन्थी समूहले इजरायलको दक्षिणी क्षेत्रमा आतंकवादी आक्रमण गरेका थिए । सो आक्रमणबाट १ हजार २०० जनाको मृत्यु भएको थियो । मारिनेमा १० जना नेपालीहरु पनि थिए । विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर गाजा क्षेत्रमा लगिएको थियो । त्यही बेलादेखि इजरायलले आतंकवादीलाई समाप्त पार्ने भन्दै आक्रमण सुरु गरेको थियो । बन्धक बनाइएकाहरुलाई रिहा र युद्ध अन्त्यको प्रयास भए पनि सफल हुन नसकेको मानवअधिकारकर्मीले बताउँदै आएका छन् ।