
कास्की, अन्नपूर्ण – अन्नपूर्ण क्षेत्रको सरसफाइ र वातावरणीय संरक्षणलाई सुदृढ बनाउन ढिकुरपोखरी युवा क्लव तथा अन्नपूर्ण गाउँपालिका–२ को संयुक्त पहलमा मंगलवार एक दिवसीय सघन सरसफाइ अभियान संचालन गरिएको छ। स्थानीय सरकार र युवाहरूबीचको प्रयासलाई जोड्ने यस अभियानले फोहोर व्यवस्थापनप्रति समुदायको चासो र सहभागितालाई थप प्रोत्साहन गरेको छ।
अभियानमा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णु बहादुर केसी, वडा नं. २ का वडा अध्यक्ष पिताम्बर भण्डारी, वडा सदस्यहरू, स्थानीय युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। सहभागी टोलीले राजमार्ग आसपास चुहुनेपहरा क्षेत्र हुँदै शाखा मार्गहरू तथा सडकछेउ–छाउमा फैलिएको प्लास्टिक, बोटल, र घरायसी फोहोर संकलन गरी व्यवस्थित रूपमा निस्तारण गरेका थिए।

गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले सरसफाइ केवल एक–दिने गतिविधि नभई जनचेतना, नियमित अभ्यास र सामुदायिक प्रतिबद्धताको निरन्तर प्रक्रिया भएको बताउँदै, गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर साथ–सहयोग गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
वडाध्यक्ष पिताम्बर भण्डारीले अन्नपूर्ण केवल भौगोलिक सौन्दर्यले मात्र होइन, स्वच्छता र पर्यावरणीय अनुशासनले पनि पहिचान बनाउनु पर्दछ। यसका लागि स्थानीय युवाहरूको सक्रियता प्रेरणादायी रहेको बताउदै भण्डारीले युवाहरुको उत्साह र सामूहिक जागरण अभियानभरी उल्लेखनीय देखिएको बताए ।
ढिकुरपोखरी युवा क्लवका सचिव बिक्रम भण्डारीले स्थानीय सरकारले हातेमालो गरेपछि हाम्रा प्रयासहरु थप प्रभावकारी भएका छन्। नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै जाँदा गाउँमाथिको फोहोरको दबाब कम हुनेछ र सबैको बसोबासलाई थप व्यवस्थित बनाइनेछ भन्ने विश्वास व्यक्त गरे।
अभियानले केवल सडकछेउ–छाउको फोहोर व्यवस्थापनमा मात्र सीमित नभई पर्यटनमुखी अन्नपूर्ण क्षेत्रलाई थप स्वच्छ, सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्थानीय समुदाय, युवा र सरकारबीचको सहकार्यले पर्यावरणीय सरसफाइलाई संस्थागत रूप दिन सक्छ भन्ने उदाहरण यो अभियानले प्रस्तुत गरेको आयोजकहरूले जनाएका छन्।











