19Shares

पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वति खरेल पाण्डेले आफ्नो पाँच महिनाको कार्यकालको समिक्षा गर्दै सेवा गतिविधिको प्रभावकारी ब्रान्डिङ्ग र रिपोर्टिङ्ग मा अझै चुनौती भएको बताएकी छन्।
आइतबार पोखरा नयाँबजारस्थित डिष्ट्रिक्ट सचिवालयमा आयोजित पोखरा क्षेत्रका सिनियर लायन्स लिडरहरूको उपस्थितिमा उनले पदीय जिम्मेवारीमा सहयोग गरेका पदाधिकारीप्रति आभार व्यक्त गर्दै उपलब्धि, चुनौती र आगामी सात महिनाको कार्ययोजनाबारे विस्तृत चर्चा गरिन्।

गर्भनर पाण्डेले डिष्ट्रिक्ट अन्तर्गत रहेका २६९ क्लबले हप्तैपिच्छे, पन्ध्र दिन वा महिना–महिनामा निरन्तर सेवा गतिविधि सञ्चालन गर्दै आएको बताए पनि ती कार्यको रिपोर्टिङ्को गति कमजोर रहेकोमा ध्यानाकर्षण गरिन्। “हामीले धेरै काम गरेका छौं, तर त्यो छविलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको हो कि भन्ने प्रश्न उठ्छ,” पाण्डेले भनिन्। उनका अनुसार क्लबस्तरमा भएका गतिविधि डिष्ट्रिक्टमा समयमै नआउँदा सेवाको वास्तविक प्रभाव जनमानसमा पुग्न सकिरहेको छैन।

उनले यही डिसेम्बर १५ देखि १९ सम्म भारतको अहमदाबादमा आयोजना हुने ISAAME फोरममा डिष्ट्रिक्ट ३२५ ‘आई’ सम्मानित हुन लागेको जानकारी दिँदै “यो उपलब्धि तपाईँहरूको निरन्तर सेवा, समर्पण र प्रतिबद्धताको प्रतिफल हो” भन्दै बाँकी सात महिनामा पनि समान उत्साहसहित अघि बढ्ने विश्वास व्यक्त गरिन्। उनले लायन्स क्लब अन्तर्राष्ट्रियले बर्सेनि विश्वभर सञ्चालन गर्ने पिस पोस्टर प्रतियोगिता अन्तर्गत यस वर्ष डिष्ट्रिक्टका १०७ क्लब सक्रिय भएका र सो कार्यक्रममार्फत करिब १५०० विद्यार्थी लायन्स गतिविधिसँग नजिकिएको बताइन्।

कार्यक्रममा द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर शैलेन्द्र मोहन भट्टराईले “हामी सेवा गर्ने उद्देश्यले लायन्स सदस्य बनेका हौं, त्यसैले हरेक वर्षलाई आफ्नो वर्ष ठानेर सक्रिय रूपमा योगदान गर्नुपर्छ” भन्ने धारणा राखे। त्यसैगरी पूर्व डिष्ट्रिक्ट गर्भनर चन्द्र कुमार केसीले लायन्स सेवा स्वयम्–सेवी भावनाले सञ्चालन हुने संस्थागत अभ्यास भएकाले बाध्यकारी नभए पनि जिम्मेवारीमा खरो उत्रिनु नेतृत्वको मूल आधार हुने बताए। उनले “काम गर्नेका गल्ती स्वाभाविक हुन्, तर कमजोरी मनन गर्दै अघि बढ्नु नै महानता” हो उनले भने।

डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर टंकराज अधिकारीले अधिकार खोज्दा दायित्व बिर्सिन नहुने उल्लेख गर्दै नेतृत्वमा अघि बढ्ने पदाधिकारीले आफ्नो क्षेत्रका क्लबको अवस्था, सदस्यताको गुणस्तर र अन्तरक्रियामा फोकस गर्नुपर्ने बताए। त्यसैगरी डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर युवराज खनालले क्लब कार्यक्रममा उपस्थित हुने पदाधिकारीले विषयगत अध्ययन र तयारीसहित जानु  पर्ने सुझाव दिँदै हाल चलिरहेको जोन मिटिङ प्रभावकारी नबनेको धारणा राखे।

डिष्ट्रिक्ट एडिशनल क्याविनेट सेक्रेटरी ज्ञान बहादुर रानाले सहजीकरण गरेको कार्यक्रममा सहभागी लिडरहरू डिष्ट्रिक्ट काउन्सिलर अमृत शोभा खत्री, मेजर रामप्रसाद गुरुङ, विष्णु ढुंगाना, नगेन्द्र राज बराल, पदमलाल श्रेष्ठ, शिवबहादुर खड्का, सुशील पौडेल, दामोदर आचार्य, आरति अधिकारी, सुरेश न्यौपाने, सन्तोष श्रेष्ठ, रोजी श्रेष्ठ र सोनी तामाङ लगायतले क्लबहरूबीच संख्यात्मक विस्तारभन्दा गुणस्तरीय सुधार आवश्यक रहेकोमा जोड दिँदै गतिविधिको निरन्तरता र कार्यान्वयनमा एकरुपता ल्याउन सुझाव दिए। उनीहरूले बोलेका धेरै योजना व्यवहारमा पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै सुधारात्मक पहल गर्न आग्रह गरे।

कार्यक्रममा गण्डकी प्रदेशभित्रका क्लबहरूको वर्तमान अवस्था, चुनौती र सुधारक्षेत्रबारे पनि विस्तृत चर्चा गरिएको थियो। सहभागी लिडरहरूले डिष्ट्रिक्ट र क्लबस्तरीय समन्वय, रिपोर्टिङ, मार्केटिङ तथा कार्यक्रम सरलताका विषयमा एकमत भएर सुधार गर्नुपर्ने सुझाव दिए। डिष्ट्रिक्ट सचिवालयमा भएको उक्त छलफलले बाँकी अवधिको कार्यान्वयनमा थप स्पष्टता र गतिशीलता आउने अपेक्षा गरिएको छ।

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected