लम्सालद्वय र खरेलको प्रतिनिधित्वसहित लायन्स मनराम प्रतिष्ठानको नयाँ समिति घोषणा
- December 1, 2025
- 279

काठमाडौं। लायन्स मनराम प्रतिष्ठान २००५ नेपालको चौधौं साधारणसभाले सुजनकुमार श्रेष्ठको अध्यक्षतामा तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ। प्रतिष्ठानको संरचनामा यस वर्ष लायन्स अन्तर्राष्ट्रियका एलसीआइएफ एरिया लिडर राजन लम्साल, डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डे र पूर्व डिष्ट्रिक्ट गर्भनर इन्दु लम्सालको सक्रिय प्रतिनिधित्व रहेको छ।
नव–निर्वाचित समितिमा मनमाया श्रेष्ठ संरक्षक, सुमनकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, राजन लम्साल उपाध्यक्ष, रामप्रसाद घिमिरे महासचिव, रेशमबहादुर पोख्रेल सचिव र पुनम कार्की कोषाध्यक्ष बनेका छन्। सदस्यमा इन्दु लम्साल, राजेन्द्रकुमार श्रेष्ठ, शकुन्तला खड्का, पार्वती खरेल पाण्डे र ठाकुरप्रसाद खनाल चयन भए। समितिमा पछिल्लो कार्यकालका अधिकांश पदाधिकारी दोहोरिएका छन्।
कार्यक्रममा प्रतिष्ठानले १० विद्यालयका मुद्दती खातामा एक–एक लाख रुपैयाँ र झण्डै ३५ हजार बराबरका पुस्तक सहयोग स्वरूप प्रदान गरेको छ । बेथानचोक–२, काभ्रेको अमृत विद्या मन्दिरलाई मनराम पुस्तकालय स्थापनार्थ पुस्तक तथा रकम हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल रघुनाथ सापकोटाले जानकारी दिए। उपाध्यक्ष राजन लम्सालका अनुसार अन्य विद्यालयहरूलाई पनि स्थानीय लायन्स क्लबको सहकार्यमा आवश्यक सामग्री उपलब्ध गराइएको छ।
प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठका अनुसार देशका ७७ वटै जिल्लामा १५४ पुस्तकालय स्थापना भइसकेका छन्। यस वर्ष थप १० विद्यालयमा विस्तारसँगै मनराम पुस्तकालयको संख्या १६४ पुगेको छ। पुस्तकालय स्थापना गर्नुपर्ने विद्यालयको छनोट डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेद्वारा गरिएको थियो।
उक्त सभामा कोषाध्यक्ष पुनम कार्कीले आर्थिक प्रतिवेदन र सचिव रेशमबहादुर पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसनद्वारा प्रदान गरिने मनराम–एसकास पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार गोविन्द पोखरेललाई प्रदान गरिएको छ। ५० हजार रुपैयाँ राशिको पुरस्कार सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले प्रदान गरेका थिए।








सम्बन्धित खवर
















