50Shares

पोखरा, १५ मंसिर। पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा आगामी मंसिर १७ देखि २१ गतेसम्म हुने ‘नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक–२०८२, पोखरा’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सम्पूर्ण व्यवस्थापन झण्डै पूरा भएको जानकारी दिए।

अध्यक्ष कार्कीका अनुसार हालैको जेन–जी आन्दोलनका कारण प्रभावित बनेको निजी क्षेत्रको वातावरणलाई पुनः स्थिर बनाउँदै उद्योगी–व्यवसायीको मनोबल बढाउने, लगानीका नयाँ सम्भावना पहिचान गर्ने तथा औद्योगिक र व्यावसायिक उत्साह पुनर्जीवित गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको हो। उनका अनुसार मेलाको उद्घाटन बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नेछन्।

मंसिर १७ देखि २१ सम्म सञ्चालन हुने मेलामा सूचना–प्रविधिका नवीनतम उत्पादन, घरायसी सामग्री, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक वस्तु प्रदर्शनमा रहनेछन्। साथै कृषि, पर्यटन, सरकारी आर्थिक नीतिबारे बहस तथा संवाद कार्यक्रम पनि मेलास्थलमै हुने संघले जनाएको छ।

२०४२ सालदेखि निरन्तर चल्दै आएको मेला यस वर्ष नेपाल मणिपाल अस्पतालको सहकार्यमा आयोजना हुँदैछ। अध्यक्ष कार्कीका अनुसार मणिपालजस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाको साझेदारीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि सबै क्षेत्रको संगमस्थलका रूपमा प्रबलीकरण गर्ने विश्वास लिइएको छ।

संघका महासचिव शोभा गौतमका अनुसार कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्की मेलाको सह–आयोजक हो। मेलामा पोखरा महानगरपालिका मुख्य प्रवद्र्धक, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकको भूमिकामा छन्। ग्लोबल आइएमई बैंक सह–प्रायोजकका रूपमा जोडिएको छ।

यस्तै टुवर्ग बियर, सोल्टी पानी, पोखरा इन्टरनेट, कुमारी गोल्ड चक्की आँटा, बाग्मती प्लास्टिक, युनाइटेड अजोड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक, बेटर विद्युतीय सामग्री, मंगलम् पाइप, गजवको पीरो चाउचाउ, नेपाल टेलिकम, रेडबुल, डाबर नेपाल, फिस्टेल ड्रिम पार्क, ग्रीन डेभलपमेन्ट बैंक, यूएनभी, माउन्ट कैलाश रिसोर्ट, होटल दीपसागर लगायतका संस्थाहरूले मेलामा विभिन्न विधाबाट सहयोग पुर्‍याएका छन्।

नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर एवं संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले संस्थागत मेलासँगको सहकार्यले पोखरालाई स्वास्थ्य–पर्यटनको प्रमुख गन्तव्य बनाउन सहयोग पुग्ने धारणा राखे। क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलाले सूचना–प्रविधिको नयाँ युग पहिचान गराउने बताए। महासचिव गौतमले मेला पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट हुने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यसमा मौलिक संस्कृति र परम्परा समेत प्रस्तुत गरिने जानकारी दिइन्।

50Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected