86Shares

पोखरा । पौष ३ गतेदेखि १४ गतेसम्म लेखनाथमा आयोजना हुन गइरहेको २१ औं लेखनाथ महोत्सवलाई सफल र सुरक्षित बनाउन जिल्लास्थित सबै सुरक्षा निकायहरूले पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन्।

सोमबार लेखनाथ उद्योग वाणिज्य सङ्घमा आयोजित संयुक्त सुरक्षा समन्वय तथा छलफल कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्ध्रादेवी शर्माले महोत्सवले देशभर “महोत्सवको पनि महोत्सव”को रूपमा पहिचान बनाइसकेको उल्लेख गर्दै अझ उत्कृष्ट बनाउने लक्ष्यसहित प्रभावकारी सुरक्षा सुनिश्चित गर्न प्रशासन तयार रहेको बताइन्।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नविन कार्कीले सुरक्षा संयोजनका सम्बन्धमा पूर्ण समन्वयका साथ काम गर्न प्रहरी तत्पर रहेको जानकारी दिए। उनले संवेदनशील सूचनाको आदान–प्रदान, स्वयंसेवक परिचालन, सिसिटिभी र पार्किङ व्यवस्थापन तथा मदिराजन्य पदार्थको विक्री–वितरणमा कडाइका विषयमा आयोजक पक्षले पनि ध्यान दिनुपर्ने सुझाव दिए।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर थापाले २१ संस्करणसम्म आइपुगेको लेखनाथ महोत्सवले उल्लेखनीय सफलता पाएको चर्चा गर्दै अब गुणस्तर र प्रभावकारितामा थप ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले कमजोर आर्थिक परिवेश र व्यवसायीको मनोबल खस्किएको वर्तमान परिस्थितिमा मेला–महोत्सव आयोजनै चुनौतीपूर्ण रहेको बताइन्। तर आर्थिक गतिविधि सन्चालनका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको उनको भनाइ थियो। उनले विगतदेखि नै सुरक्षा निकायहरूले पुर्‍याइरहेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उस्तै साथ र सहकार्यको अपेक्षा गरिन।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाल, सशस्त्र प्रहरी कालिका गणका प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमल्सेना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप–अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्षहरू तथा महोत्सवका विभिन्न उपसमितिका संयोजकहरूको उपस्थिति थियो।

कार्यक्रम महासचिव भरतराज ओझाको सञ्चालनमा सम्पन्न भएको थियो भने वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गरेका थिए।

86Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected