23Shares

अन्नपुर्ण, कास्की। अन्नपूर्ण गाउँपालिका कास्कीको पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने उल्लेरी–घोडेपानी सडकखण्डअन्तर्गत माताठाँटी मोटरेबल कल्भर्ट पुल निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक योजना अनुसार अगाडि बढाइएको यस पूर्वाधार परियोजनाले बर्खायाममा हुने जोखिम तथा यातायातजन्य असुविधा न्यूनिकरण गर्ने उद्देश्य लिएको गाउँपालिकाले जनाएको छ।

कल्भर्ट पुलको शिलान्यास अन्नपूर्ण गाउँपालिका–कास्किका अध्यक्ष विष्णुबहादुर केसीले विधिवत् पूजापाठसहित सम्पन्न गरेका हुन्। गाउँपालिका–८ मा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी बराल, वडा नं. ८ का अध्यक्ष विजय गुरुङ, वडा नं. ९ का अध्यक्ष रमेश गुरुङसहित जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा वडा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भौतिक पूर्वाधार विकासका लागि स्थानीय सरोकारवालाको सक्रियता र सबै पक्षबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। “जब हामी सबै पक्ष एकै उद्देश्य लिएर अघि बढ्छौं, स्थानीयको साथ र सहकार्य मिल्छ, तब मात्र गुणस्तरीय विकास सम्भव हुन्छ,” उनले भने।

साथै, सार्वजनिक संरचना सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण र सदुपयोगमा स्थानीय समुदाय बराबर जिम्मेवार बन्नुपर्नेमा पनि उनले जोड दिए। अध्यक्ष केसीका अनुसार कल्भर्ट पुल निर्माण सम्पन्न भएपछि पर्यटनका लागि ख्यातिप्राप्त उल्लेरी–घोडेपानी क्षेत्रसम्मको यातायात सहज हुने र विशेष गरी बर्खायाममा हुने जोखिम तथा असुविधा उल्लेख्य रूपमा कम हुनेछ।

योजनाको छिटो र गुणस्तरीय निर्माणप्रति गाउँपालिकाले उच्च प्राथमिकता दिएको छ। स्थानीय समुदायमा पनि परियोजना सुरुआतसँगै उत्साह र आशा थपिएको देखिएको छ।

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected