
अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति डटकम अनलाइन न्यूज पोर्टल समूहलाई ४–१ गोल अन्तरले पराजित गर्दै विटी क्लब बगर च्याम्पियन बनेको हो।
यसअघि पहिलो सेमिफाइनलमा मर्दीसेतिले बेल्लीज एफसीलाई ट्राइब्रेकरमा ३–२ ले पछि पार्दै फाइनल प्रवेश गरेको थियो। दोस्रो सेमिफाइनलमा विटी क्लब बगरले सन्तोष मेमोरियलविरुद्ध ४–० को सहज जीत निकाल्दै फाइनलमा स्थान बनाएको थियो।
विजेता विटी क्लब बगरलाई नगद रु ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। उपविजेता मर्दीसेतिले नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। सेमिफाइनल पुग्ने बेल्लीज एफसी र सन्तोष मेमोरियलले नगद रु ७,५०० का दरले सम्मान प्राप्त गरे। अन्य व्यक्तिगत विधातर्फका पुरस्कारहरू पनि वितरण गरिएको खेल संयोजक रवि गुरुङले जानकारी दिए।
पोथाना टोल सुधार समितिको आयोजनामा मंसिर १७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता सोही दिन सम्पन्न भएको हो। समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवं वडा नं.–७ का वडाध्यक्ष भरत मान गुरुङले अष्ट्रेलियन क्याम्प, पोथना, पितम देउराली हुँदै मर्दी हिमाल पैदलमार्ग क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रम टोल सुधार समिति अध्यक्ष थम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन युवा समाजसेवी प्रदीप गुरुङले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र गुरुङले प्रस्तुत गरेका थिए।






सम्बन्धित खवर















