‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा–२०८२’ सम्पन्न
- December 7, 2025
- 477

पोखरा, २१ मंसिर । पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि आयोजना भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक–२०८२, पोखरा’ पाँच दिनपछि सम्पन्न भएको छ। समापन कार्यक्रम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्पन्न गरेका हुन्।
समापन समारोहमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना महानगरको प्राथमिकता भएको बताउँदै व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत उद्यमशील युवाहरुका लागि तालिम तथा परामर्श सेवा सञ्चालन भइरहेका कार्यक्रमबारे जानकारी गराए। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै रोजगारी तथा भौतिक विकासलाई प्रभावकारी बनाउन महानगर प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेलाका संयोजक गोकर्ण कार्कीले उद्यमशील नागरिकलाई राज्यले संरक्षण र प्रोत्साहन दिनुपर्ने धारणा राखे। “व्यापार–व्यवसाय गरेर रोजगारी दिनेलाई अपराधी ठहर्याउने प्रवृत्ति गलत हो,” भन्दै उनले भदौ २४ गते उद्योगी–व्यवसायीमाथि भएको आक्रमणको पुनरावृत्ति नहोस् भन्ने आग्रह गरे।

समापन कार्यक्रममा पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले उत्पादकत्व वृद्धि बिना देशले समृद्धि हासिल गर्न नसक्ने बताए। मेला मुख्य प्रायोजक मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडोविलले गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य पर्यटन विकासमा मणिपाल प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपाल पत्रकार महासंघ गण्डकीकी अध्यक्ष जमुना वर्षा शर्माले मेला तथा महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन र अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
समापन अवसरमा उत्कृष्ट स्टलतर्फ ‘कस्मिक कम्प्युटर’लाइ सम्मान गरिएको थियो भने उत्कृष्ट झाँकी तथा सांस्कृतिक प्रस्तुतीका लागि नेपाल मगर संघ कास्की र देवीस्थान भजन समूह हेम्जालाई सम्मान गरिएको थियो।
मेला औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यमा आयोजना गरिएको थियो। लगानी प्रवद्र्धन तथा उद्यमशीलता मैत्री वातावरण बनाउन मेला समर्पित रहेको जानकारी प्रचार–प्रसार संयोजक मनोहरि पौडेलले दिए। उनका अनुसार मेलाअन्तर्गत उद्यमशीलता प्रवद्र्धन, लगानीमैत्री नीति निर्माण, नवप्रवर्तन, सूचना प्रविधि तथा कृषि सम्बन्धी विभिन्न परिसंवाद समेत सञ्चालन गरिएको थियो।






सम्बन्धित खवर
















