कांग्रेस कास्की–१ आवेदनमा प्रतिस्पर्धा : प्रत्यक्षमा १२ र समानुपातिकमा ८ आकांक्षीको नाम संकलन, २ र ३ मा सोमबार
- December 7, 2025
- 720

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ मा आकांक्षीहरूको आवेदन संकलन सकिएको छ। पार्टीभित्र चलिरहेको आन्तरिक समायोजन, शक्ति–सन्तुलन र संगठनगत प्रभावका कारण यस क्षेत्र प्रत्यक्षतर्फ मात्रै १२ जनाले उम्मेदवारी चाहना प्रकट गरेका छन्।
कांग्रेस कास्की–१ का सभापति राजेन्द्र मणि लामिछानेका अनुसार खुला मनोनयन प्रक्रिया प्रारम्भसँगै कास्की–१ अहिले कांग्रेसभित्रकै कडा प्रतिस्पर्धाको केन्द्रबिन्दु बन्न थालेको छ।
प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आधिकारिक रूपमा दाबी गर्ने १२ आकांक्षीमा कृष्ण बहादुर केसी, तिलक रानाभाट, जीवन परिवार, गुरु बराल, सुदिप मोहन भट्टराई, भानु ढकाल, प्रेम सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सोभिता कार्की छन्।
यीमध्ये केही पुराना संगठन पंक्तिबाट आएका अनुभवी नेता हुन् भने केहीले युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेतृत्वमा नयाँ ऊर्जा र दाबी प्रस्तुत गरेका छन्।
कांग्रेस कास्की–१ का सचिव सरोज केसीका अनुसार स्थानीय तहका पदाधिकारीहरूको समीकरण र सन्तुलनले अन्तिम नामांकन निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको देखिनेछ।
यसैगरी, समानुपातिक तर्फ कास्की–१ बाट ८ जनाले नाम दर्ता गराएका छन् । जस मध्ये संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियारहेका छन् ।
समानुपातिक सूचीमा महिला, जनजाति, दलित तथा अल्पसंख्यक समुदायको उल्लेख्य सक्रियताले कांग्रेसभित्र समावेशी प्रतिनिधित्व बलियो बन्ने अपेक्षा गरिएको छ।
आकांक्षीहरूको व्यापक सहभागितापछि क्षेत्रीय समिति तथा भातृ संस्थाहरूबीच तीव्र छलफल चलिरहेको सचिव केसीले बताए। उनका अनुसार सहमतिको प्रयासलाई प्राथमिकता दिए पनि अन्तिम टुंगो नलागे प्राइमरी प्रक्रियामार्फत उम्मेदवार चयनको विकल्प खुला रहनेछ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार कास्की–१ परम्परागत रूपमा कांग्रेसको बलियो क्षेत्र मानिए पनि पछिल्ला निर्वाचनमा बढ्दो प्रतिस्पर्धा र युवा मतदाताको सक्रियताले उम्मेदवार चयन नै परिणाम निर्धारण गर्ने निर्णायक तत्व बन्न सक्छ।
कांग्रेस कास्की–१ ले क्षेत्र नं. १ अन्तर्गतका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति र सबै आकांक्षीबीच समन्वय तथा छलफलका लागि २२ गते सोमबार बैठक बोलाएको छ।
यस्तै, कास्की क्षेत्र नं. २ र ३ ले पनि २२ गते सोमबार नै प्रत्यक्ष र समानुपातिक दुबै तर्फका आकांक्षीहरू तथा संरचनागत प्रतिनिधिहरूबीच छलफल भेला बोलाएको जनाएको छ।






सम्बन्धित खवर
















