स्थापनाको १३ वर्षमै चरक हस्पिटल प्रदेशकै भरोसायोग्य स्वास्थ्य सेवा केन्द्र बन्दै
- December 8, 2025
- 396

पोखरा, २२ मंसिर। पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवा यात्राको १३ वर्ष पूरा गर्दै विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले शनिबार रक्तदान कार्यक्रम र आइतबार बटुकलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै उत्सव मनाएको हो।
आइतबार साँझ आयोजित समारोहमा सयौं अतिथिमाझ हस्पिटलका चिकित्सक तथा कर्मचारीहरूलाई अवार्ड वितरण गर्दै शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको हस्पिटलले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्वबन्धु बगालेले निजी क्षेत्रका अस्पतालहरूले सामाजिक उत्तरदायित्व पालन गर्दै समुदायसँग नजिकिँदै जानु प्रशंसनीय रहेको बताए। सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामध्ये गण्डकी प्रदेशबाट सबैभन्दा धेरै योगदानकर्तालाई सेवा दिएकोमा नेपाल सरकारबाट सम्मानित भएका चरक हस्पिटललाई उनले बधाईसमेत दिएका थिए ।
हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले सेवाग्राही, चिकित्सक तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै भविष्यमा सेवा अझै परिष्कृत र स्तरीय बनाउने प्रतिबद्धता जनाए। उनका अनुसार २०६९ साल मंसिर १० गते स्थापना भएको यो हस्पिटलले १३ वर्षदेखि समुदायलाई गुणस्तरीय, पहुँचयोग्य र करुणायुक्त सेवा प्रदान गर्दै आएको छ।
१०० शय्या क्षमताको यो बहु–विषयक (मल्टी–स्पेशालिटी) हस्पिटल ७ तले भूकम्प प्रतिरोधी संरचनामा रहेको छ, जसको छतमा हेलिप्याड सुविधा पनि रहेको छ। हस्पिटल अत्याधुनिक उपकरण र नवीनतम प्रविधिबाट सेवा विस्तार गरिरहेको र मुटु उपचार तथा शल्यक्रियामा समेत ख्यातिप्राप्त रहेको प्रबन्ध निर्देशक पोखरेलले जानकारी दिए।कार्यक्रम हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो।






सम्बन्धित खवर
















