
पोखरा । १४औँ संस्करणको पोखरा महोत्सवको प्रचार–प्रसार औपचारिक रूपमा सुरु भएको छ। आन्तरिक पर्यटनको प्रवर्द्धन तथा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानमा सक्रिय माइलस्टोन्स इन्फिल्डर्समार्फत महोत्सवको प्रचार अभियान थालिएको हो। नेपालका प्रमुख शहरमा रहेका मोटरसाइकल राइडर समूह माइलस्टोन्स इन्फिल्डर्सका सदस्यलाई युनाइटेड क्लब पोखराले पोखरामा स्वागत गर्दै प्रचार–प्रसार सुरुआत गरेको हो।
कार्यक्रममा युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापा र संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधि मछिन्द्र थपलियालाई १४औँ पोखरा महोत्सवका प्रचारात्मक स्टिकर प्रदान गरी अभियान प्रारम्भ गरेका थिए।
सो अवसरमा माइलस्टोन्स इन्फिल्डर्सका प्रतिनिधि मछिन्द्र थपलियाले ‘राइड टु थ्री एङ्गल्स नेपाल’ भन्ने नाराका साथ चितवनबाट सुरु भएको यात्रा पोखरामा आइपुगेपछि युनाइटेड क्लबले स्वागत गर्दै हौसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। उनले मोटरबाइक राइडमार्फत नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै आएको आफ्नो समूहलाई युनाइटेड क्लबले पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याइरहेको उल्लेख गर्दै १४औँ पोखरा महोत्सवको सफलताको शुभकामना व्यक्त गरे।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले हिमाल–पहाड–तराई यात्रा गर्दै पोखरा आइपुगेको टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले युनाइटेड क्लबले पोखरा महोत्सवमार्फत पोखरामा नयाँ पर्यटकीय गन्तव्य ‘चिडियाखाना’ निर्माणको सुरुआत गरेको र प्रदेश सरकारले अहिले त्यसलाई गौरवका योजनाअन्तर्गत अघि बढाइरहेको जानकारी दिए। बख्रेलका अनुसार उक्त चिडियाखाना अहिले पोखराको नयाँ आकर्षक गन्तव्यको रूपमा स्थापित भइसकेको छ।
त्यसैगरी, युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले आगामी पुष २९ देखि माघ ११ गतेसम्म आयोजना हुने १४औँ पोखरा महोत्सवको तयारी तीव्रताका साथ अघि बढिरहेको बताए। नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा सक्रिय माइलस्टोन्स इन्फिल्डर्सको टोलीले यस वर्षको प्रचार अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए। “पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव हो, सबैको साथ र सहयोगले नै हामी १४औँ संस्करणसम्म आइपुगेका हौँ,” उनले भने।
कार्यक्रमको सञ्चालन युनाइटेड क्लब पोखराका सचिव सन्तोष कार्कीले गरेका थिए।
चितवनबाट सुरु भएको हिमाल–पहाड–तराई यात्रा काठमाडौँ, धरान, हेटौंडा, बुटवल, पोखरा हुँदै कास्कीको अस्ताम, पोथाना, लुम्ले हुँदै कांडेसम्म पुग्नेछ। यात्रामा ६० भन्दा बढी बाइक राइडर सहभागी छन्। सहभागी समूहमा योंग इन्फिल्डर्स, स्मार्ट बुलेट सर्भिस सेन्टर, हेटौंडा लेजेण्डस, रोलिङ विंग्स, एमसीज नेष्ट सेड बाइ नेचर लभर, ओपन ल्याण्डर्स, कावासोती इन्फिल्डर्स, द बाइकर्स हब, हेलबन्डु एमसी काठमाडौँ, लोको सवारी चितवन, द इन्फिल्डर्स स्टेशन, बुलेट हाउस चितवन, रोयल राइनो राइडर्स चितवन लगायतका क्लबहरू समावेश छन्।
यस्तै, पर्यटन प्रवर्द्धनसँगै सामाजिक नेटवर्किङको आवश्यकता देखिएकाले १४औँ पोखरा महोत्सवमार्फत ‘वी पोखरा’ एपको शुभारम्भ गरिने युनाइटेड क्लब पोखराका महासचिव दिनेश सुनारले जानकारी दिए।






सम्बन्धित खवर
















