
लेखनाथ, २५ मंसिर। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं लेखनाथ महोत्सव काे तयारी तीव्र गतिमा अघि बढिरहेको छ। तयारीसँगै यस क्षेत्रका विभिन्न आमा–महिला समूह, संघ–संस्था तथा विभिन्न जातजाति/समुदायहरूले प्रस्तुत गर्ने मौलिक झाँकी र्याली काे अभ्यास पनि जोर–शोरले भइरहेको छ।
हरेक वर्ष महोत्सवको उद्घाटनमा निस्कने वृहत झाँकी र्याली यहाँको प्रमुख आकर्षण मानिन्छ। झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठका अनुसार, झाँकी र्यालीले केवल सहभागी समुदायहरूको अपनत्व मात्र होइन, उनीहरूको मौलिक परम्परा, भेषभूषा, चलन–रिति र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँछ।
श्रेष्ठका अनुसार, “लेखनाथ महोत्सवमा देखिने झाँकी अन्य कुनै मेला–महोत्सवमा देख्न कठिन छ। फरक–फरक जातजातिका मौलिक पहिरन, पोसाक, संस्कार–संस्कृति झल्किने प्रस्तुति नै महोत्सवको विशिष्ट पहिचान बनेको छ।”
यसपटक झाँकी र्यालीलाई अझ व्यवस्थापनयुक्त र आकर्षक बनाउन विशेष तयारी गरिएको छ। सहभागी समूहहरूलाई अघिल्ला वर्षभन्दा अझ बढी प्रोत्साहन प्रदान गरिने पनि उप–समितिले जनाएको छ। झाँकी र र्याली दुवै तर्फ छुट्टाछुट्टै पुरस्कार व्यवस्था गरिएको छ।
झाँकीतर्फ: प्रथम : रु २०,०००, द्वितीय : रु १५,०००, तृतीय : रु १०,००० र सान्त्वना : रु ५,००० त्यस्तै र्यालीतर्फ: प्रथम : रु १५,000, द्वितीय : रु १०,000, तृतीय : रु ५,000 र १० समूहलाई सान्त्वना : जनही रु २,000पुरस्कार व्यवस्था गरिएको झाँकी र्यालीमा सहभागी हुन चाहने समूहहरूले मंसिर २८ गतेभित्र दर्ता गराइसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए।
आगामी पौष ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु तथा औद्योगिक वस्तु–सेवा, हस्तकला, कृषि तथा पशुजन्य उत्पादन, यातायातका साधन, शैक्षिक तथा वैज्ञानिक सामग्री, सूचना–सञ्चार प्रविधिमा भएका नयाँ आयाम, नयाँ प्रतिभाको खोजी, सांस्कृतिक संरक्षण कार्यक्रमसहितका थुप्रै आकर्षक गतिविधि समावेश गरिएका छन्।
संघका अध्यक्ष तथा महोत्सव संयोजक जानुका पराजुलीका अनुसार, महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य–कला–संस्कृतिको जगेर्ना तथा आन्तरिक–बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि. ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजनमा बिएलसि समूह (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौडा डेरी तथा प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन्।





सम्बन्धित खवर
















