15Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि केन्द्रले तोकेको मापदण्ड विपरीत सिफारिस भइरहेको भन्दै मातहतका समितिहरूलाई पुनः कडा निर्देशन दिएको छ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले निर्धारित मापदण्डअनुसार नाम नपठाएको सूचनापछि कांग्रेसले बिहीबार अघिल्लो परिपत्रमै उल्लेखित संख्या र मापदण्डअनुसार मात्र सिफारिस गर्न औपचारिक रूपमा ध्यानाकर्षण गराएको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ, ‘तोकिएको मापदण्ड तथा संख्याभित्र रही, पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) बमोजिम उम्मेदवार सिफारिस गर्न पुनः गम्भीर ध्यानाकर्षण गरिन्छ।’

कांग्रेसले यसअघि १५ र १७ मंसिरमा परिपत्र जारी गरी प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) तथा राष्ट्रियसभा सदस्यका लागि सिफारिसको स्पष्ट मापदण्ड निर्धारण गरेको थियो।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ: विधानको धारा ३०, ३३(२) र ६९ अनुसार योग्यता पुगेका व्यक्तिमध्ये एक महिलासहित बढीमा ३ जनाको र समानुपातिकतर्फ: समावेशी सिद्धान्तअनुसार कम्तिमा एक महिलासहित बढीमा २ जनाको सिफारिसको मापदण्ड तोकेको थियो।

त्यस्तै, राष्ट्रियसभाका लागि जिल्लाबाट योग्यता पुगेकाहरूको प्रारम्भिक सूची मागिने। एक सिटका लागि ३ जनाको नाम सिफारिस—सहमति हुन सके सहमतिअनुसार, नभए बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउने व्यवस्था छ।

तर पछिल्ला दिनमा क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले मापदण्डभन्दा बाहिरका नाम पठाइरहेको गुनासो बढेपछि पार्टीले केन्द्रिय रूपमा कडाइ अपनाएको हो।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected