पुर्व विद्यार्थी नेता एवम् वडाध्यक्ष गुरुङ एमाले महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार बने
- December 12, 2025
- 1143

पोखरा। पुर्व विद्यार्थी नेता तथा कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवार बन्ने भएका छन्।
गण्डकी प्रदेश कमिटी सदस्य समेत रहेका गुरुङ कास्की क्षेत्र नम्बर–३ बाट युवा क्लस्टर तर्फका राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन्।
वि.सं. २०५९ मा कक्षा ७ पढ्दादेखि नै अनेरास्ववियुमा सक्रिय गुरुङ २०६३ मा राष्ट्रिय उच्च मावि पोखराको प्रारम्भिक कमिटी सचिव बने। त्यसयता उनले क्षेत्रीय कमिटी अध्यक्ष, कास्की जिल्ला सचिव, गण्डकी अञ्चल सचिव, राष्ट्रिय परिषद सदस्य हुँदै २०७२ मा केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी सम्हाले।
उनी २०७३ मा अनेरास्ववियुको तर्फबाट पृथ्वीनारायण क्याम्पसमा स्ववियु सचिवका उम्मेदवार बनेका थिए। तर विद्यार्थी संगठनबीचको विवादका कारण निर्वाचन अन्तिम समयमा स्थगित भयो। त्यसपछि गुरुङ २०७६ मा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा २०७८ मा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज बने।
गुरुङ २०६७ देखि नै पार्टीको मूल संरचनामा सक्रिय रहँदै आएका छन्। शाखा कमिटी, इलाका कमिटी, क्षेत्रीय कमिटी हुँदै उनी २०७८ मा एमाले कास्की जिल्ला कमिटी सदस्य, २०८० देखि गण्डकी प्रदेश कमिटी सदस्य तथा अन्नपूर्ण गाउँपालिका इन्चार्जको भूमिकामा छन्।
२०७४ देखि २०७७ सम्म तत्कालीन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माका स्वकीय सचिवका रूपमा काम गरेका गुरुङ २०७९ को स्थानीय तह निर्वाचनमा अन्नपूर्ण–७ बाट वडाध्यक्षमा विजयी बने। हाल उनी गाउँपालिकाका प्रवक्ता समेत छन्।
“विद्यार्थी संगठनदेखि स्थानीय तहसम्म हरेक स्थानमा काम गर्ने अवसर पाएँ। जहाँ जिम्मेवारी पाएँ, इमानदारीपूर्वक निभाएँ। अब पार्टीको केन्द्रीय तहमा पुगेर गण्डकी र देशको विकासमा थप योगदान दिने चाहना छ,” गुरुङले भने।
एमाले कास्की तथा गण्डकीका नेताहरूका अनुसार भरतमान गुरुङ अध्ययनशील, वैचारिक, इमानदार, निष्ठावान, सन्तुलित र मेहनती युवा नेताका रूपमा परिचित छन्। स्थानीय स्तरमा विकास निर्माण, सामाजिक सेवा तथा युवा–खेलकुद क्षेत्रमा उनी सक्रिय र प्रभावकारी रहेकाले उनको दाबी मजबुत हुने पार्टी स्रोतको भनाइ छ। काठमाडौंमा हुने ११औँ महाधिवेशनले केन्द्रीय सदस्य पदमा गुरुङको दाबी कत्तिको प्रभावशाली हुने भन्ने निर्धारण गर्नेछ।






सम्बन्धित खवर















