पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवस : तीनदिने विशेष कार्यक्रम सार्वजनिक

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसलाई यस वर्ष विशेष कार्यक्रमसहित मनाउने भएको छ। सामाजिक सेवा, सरसफाइ, सांस्कृतिक प्रस्तुति, सम्मान तथा सामुदायिक सहभागितालाई प्राथमिकता दिँदै तीन दिनसम्म विविध गतिविधि सञ्चालन गर्ने जानकारी मेयर धनराज आचार्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
वि.सं. २०१६ मा नगरपालिका रूपमा स्थापना भएको पोखरा पछिल्ला वर्षहरूमा क्रमिक रूपमा नगर पञ्चायत, पुनः नगरपालिका, उप–महानगर हुँदै २०७३ फागुन २७ मा पोखरा–लेखनाथ महानगरका रूपमा विस्तार भएको थियो। २०७५ साउन २३ बाट यसलाई आधिकारिक रूपमा पोखरा महानगरपालिका नामाकरण गरिएको हो।
४६४.२४ वर्ग किलोमिटर क्षेत्रफलसहित देशकै सबैभन्दा ठूलो महानगर मानिने पोखरा पूर्वमा मादी–रुपा, पश्चिममा अन्नपूर्ण गाउँपालिका तथा पर्वत–स्याङ्जा, उत्तरमा माछापुच्छ्रे गाउँपालिका र दक्षिणमा मादी–तनहुँ–स्याङ्जासम्म फैलिएको छ। २०७८ को जनगणनाअनुसार स्थायी जनसंख्या ५ लाख १३ हजार भए पनि सहरीकरण र बसाइसराइको तीव्रताले हाल करिब २० लाख मानिस बसोबास गरिरहेको अनुमान गरिएको छ। पोखरामा ४० भन्दा बढी समुदायहरूको बसोबास छ, जसका मौलिक संस्कृति—बालन, सोरठी, घाँटु, सालैंजो, भजन–चुट्का—ले शहरको सांस्कृतिक पहिचान बलियो बनाएका छन्।
फेवा, बेगनास, रुपा ताल; महेन्द्र, चमेरे, गुप्तेश्वर गुफा; विन्ध्यवासिनी, तालबाराही, शान्ति स्तुपा, पुम्दीकोट, माटेपानी गुम्बा जस्ता प्राकृतिक तथा धार्मिक सम्पदाले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गरेका छन्। अन्नपूर्ण, धौलागिरि र माछापुच्छ्रे हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने शहरका रूपमा पनि पोखरा विशेष पहिचान राख्छ। मुक्तिनाथ, अन्नपूर्ण, मर्दी, कोरी, सिक्लेस, घान्द्रुक–धम्पुस जस्ता पदयात्रा गन्तव्यका लागि पोखरा मुख्य प्रवेशद्वार मानिन्छ।
यस वर्ष पनि ‘पोखरेली नवरत्न सम्मान’ स्थापना दिवसको मुख्य आकर्षण रहनेछ। भाषा–साहित्य, कला, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता, सामाजिक सेवा, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा विज्ञान–प्रविधि क्षेत्रका ९ जना व्यक्तित्वलाई नगद रु. २ लाख २ हजार २०२, ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिनेछ।
शैक्षिक क्षेत्रमा उत्कृष्टता देखाउने विद्यार्थी, शिक्षक तथा विद्यालयहरूलाई पनि सम्मान गरिने महानगरले जनाएको छ। एसईईमा ४ GPA ल्याउने ६७ विद्यार्थी, कक्षा ८ मा ४ GPA ल्याउने १२ विद्यार्थी, ६० उत्कृष्ट शिक्षक, कक्षा ८ का १५ उत्कृष्ट विद्यालय, एसईईका ४९ उत्कृष्ट विद्यालय तथा उच्च GPA हासिल गर्ने सामुदायिक–संस्थागत १–१ विद्यालयलाई सम्मान प्रदान गरिनेछ।
त्यसैगरी ३३ वडामध्ये उत्कृष्ट सरसफाइ प्रदर्शन गर्ने ३ वडाहरू, महानगर मातहतका उत्कृष्ट सरसफाइ कार्यालय, समयमा सबैभन्दा बढी राजस्व बुझाउने करदाता र उमेरका आधारमा छनोट गरिने महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान कार्यक्रम पनि रहनेछ।
स्थापना दिवसलाई शहर–व्यापी रूपमा मनाउन महानगरले बिभिन्न चरणका कार्यक्रमहरू तय गरेको छ– कार्यक्रम तालिका अनुसार मंसिर २६– पत्रकार सम्मेलन — दमकल अफिस, बिहान ८:०० बजे सम्पन्न गरिसकेको छ भने बाँकी कार्यक्रमहरुमा मंसिर २९ गते रक्तदान , कृषि क्विज, महानगर मातहतका कार्यालय परिसर सरसफाइ गर्ने भएको छ।
यसैगरी पुस १ गते ३३ वडामा सामूहिक सरसफाइ, सारङ्गी पार्क शिलान्यास — बसुन्धरा पार्क, शिक्षक–विद्यार्थी–विद्यालय सम्मान, न्यानो कपडा वितरण मानव सेवा आश्रम, हेमजा गर्ने भएको छ।
अन्तिम दिन पुस २ गते सांस्कृतिक झाँकीयाली — मानवअधिकार चोकदेखि सभागृहसम्म र मुल समारोह सभागृहमा हुनेछ जसमा पोखरेली नवरत्न, कर्मचारी, ज्येष्ठ नागरिक तथा करदाता सम्मान कार्यक्रम हुनेछ।
मुल समारोहमा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम गरेका स्वदेशी तथा विदेशी नगरका प्रतिनिधि, देशका सबै महानगर र उप–महानगर प्रमुख, छिमेकी पालिकाका प्रतिनिधि, पूर्व मेयर–उपमेयर तथा विशिष्ट अतिथिहरूको सहभागिता रहने महानगरले जनाएको छ।






सम्बन्धित खवर















