लोपोन्मुख रत्यौलीको पुनर्जागरण : लेखनाथ महोत्सवमा परम्परा, प्रस्तुति र नयाँ पुस्ताको सहभागिता
- December 19, 2025
- 1728

लेखनाथ । नेपाली समाजमा विवाहको अवसरमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसको जगेर्ना तथा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गरिँदै आएको छ। दुलाहाका घरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले सामूहिक रूपमा गाउने गीतलाई रत्यौली भनिन्छ।
जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान, दुलहीका घरमा हुने कर्म र पुनः दुलाहाको घर भित्रिँदासम्मका अवस्थालाई समेटेर रत्यौली गीत गाइने गरिन्छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीका अनुसार, रत्यौलीमा अश्लीलता हुने आरोप लागे पनि पछिल्ला दिनमा समाजमा पाच्य हुने शब्द र भाव समेटिएका गीतहरू प्रस्तुत हुन थालेका छन्। महोत्सवमा यस्ता प्रतियोगिता आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष शिवहरि ढुंगानाले मेला–महोत्सवमा यस किसिमका प्रतियोगिता आयोजना गर्दा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिनुका साथै यसको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनका अनुसार रत्यौली गायन तथा प्रदर्शनमा महिलाको मात्र सहभागिता रहने गर्छ। एकथरी महिलाले बसेर ताली बजाउँदै गीत गाउने र अर्को समूहले नृत्य तथा अभिनयमार्फत प्रस्तुति दिने गरिन्छ। यस क्रममा एउटी महिला नर्तकीका रूपमा र अर्की महिलाले पुरुषको भेषमा सजिएर नृत्य तथा अभिनय गर्छिन्। पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई ‘लुठो’ भन्ने चलन रहेको छ।
रत्यौली गीत आफैं रोचक हुने र नर्तकहरूको नृत्य तथा अभिनयले गायनस्थललाई अझ रमाइलो बनाउने महिला विशेष कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटले बताइन्। उनका अनुसार महोत्सवको स्टेजमा नौमती बाजासहित प्रस्तुत हुने रत्यौली प्रतियोगिताले मेला–महोत्सवलाई मात्र नभई समग्र लोक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा रत्यौलीको महत्व बुझाउन सहयोग पुर्याएको छ। पुस महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले विवाहकै झल्को दिने गरी पञ्चेबाजासहित बेहुला–बेहुलीको प्रतीकात्मक प्रस्तुति मार्फत रत्यौलीलाई स्थान दिएको थियो।
महोत्सवको थप आकर्षणका रूपमा रहेको रत्यौली प्रस्तुतिका लागि २० वटा समूह पहिलो चरणबाट छनोट भएका छन्। शुक्रबार नमुना कृषक आमा समूह पोखरा–२६, भरतपोखरी विश्वकर्मा समाज महिला पोखरा–३३ र सरस्वती सामुदायिक महिला समूह पोखरा–३३ ले रत्यौली प्रस्तुत गरेका थिए भने शनिबार गायत्री आमा समूह पोखरा–३२ ले प्रस्तुति दिनेछ।
यस्तै, महोत्सवको विद्यालयस्तरीय कार्यक्रम अन्तर्गत शुक्रबार सरस्वती टीका मावि, ओएसिस सेकेण्डरी स्कुल, ज्ञानकुञ्ज विद्याश्रम, सिर्जना बहिरा मावि र अमरसिद्ध नमुना माविका विद्यार्थीहरूले प्रस्तुति दिएका थिए। शनिबार चारवटा विद्यालयको प्रस्तुति रहने विद्यालयस्तरीय कार्यक्रम व्यवस्थापन समितिका सदस्य अर्जुनप्रसाद आचार्यले जानकारी दिए।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पुस ३ गतेदेखि सुरु भएको २१औँ संस्करणको लेखनाथ महोत्सवको दोस्रो दिन ११ हजार दर्शकले अवलोकन गरेका छन् भने करिब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको महोत्सवका प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए।
शुक्रबार लोकदोहोरी कलाकार धनश्याम रिजाल, कुमार पुन, कृष्णा गुरुङ, शिवहरि ढुंगाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुङ र अमृता हमाललगायतले प्रस्तुति दिएका थिए भने बेलुकी लाइभ कन्सर्टमा स्थानीय ब्याण्डहरूको प्रस्तुति रहेको थियो।
शनिबार लोकदोहोरीतर्फ खुमन अधिकारी, मीरा पोख्रेल, शान्ता वर्देवा, मधु थापा मगर, गगन गुरुङ र शिवहरि ढुंगानाले प्रस्तुति दिनेछन्। हास्यव्यङ्ग्यतर्फ राजेन्द्र गिरी (गुन्द्रुके) र बेलुकी सुगम सङ्गीततर्फ रचना रिमाल तथा डेभिड शंकरले प्रस्तुति दिने कलाकार संयोजक भरत कुमार अधिकारीले जानकारी दिए।










