
अन्नपूर्ण, कास्की। ३६ वर्षअघि एउटै कक्षाकोठामा भविष्यका सपना बोकेर छुट्टिएका एस.एल.सी. ब्याच–२०४७ का सहपाठीहरू २०८२ साल पुष ५ गते, शनिवार पुनः एउटै आँगनमा भेला भए। अन्नपूर्ण गाउँपालिका–१ स्थित १४ माइल्समा सम्पन्न उक्त भेटघाट कार्यक्रम सम्झना, आत्मीयता र भविष्यप्रतिको प्रतिबद्धताले भरिपूर्ण रह्यो।
भेलामा उपस्थित सहपाठीहरूमध्ये जेष्ठ सदस्य चक्रपाणी भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो भने भेलाको संयोजन तथा सहजीकरण टंकराज अधिकारीले गरेका थिए । संयोजक अधिकारीले उपस्थित सम्पूर्ण साथीहरूलाई धन्यवाद व्यक्त गर्दै भने — “कहिले लाली चढेका अनुहार, कस्सिएका कपाल र नथाक्ने शरीर थियौं। आज कपाल फुलेका छन्, अनुहारमा चाउरी थपिएका छन्, तर आँखाभित्र उही चमक बाँकी छ।”

३६ वर्षपछि फेरि एउटै स्थानमा भेला हुँदा सहपाठीहरू हाँसो, भावुकता र जीवनका अनुभूति साट्दै फेरि विद्यार्थी बनेझैं अनुभूति गरे। सहभागीहरूले यस भेटघाटलाई केवल विगतको सम्झना मात्र नभई भविष्यमा सहपाठी सम्बन्ध अझ सुदृढ बनाउने सुरुवातको रूपमा व्याख्या गरे। कार्यक्रममा अनुपस्थित साथीहरूलाई आगामी भेटमा अनिवार्य सहभागी हुन आग्रहसमेत गरिएको थियो।
भेलाले टंकराज अधिकारीको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको सह–संयोजकमा गणेशप्रसाद अधिकारी, सचिवमा विष्णुहरि शर्मा, कोषाध्यक्षमा हरि केसी चयन भएका छन्। सदस्यहरूमा नारायणबहादुर थापा, विष्णु कुमारी पौडेल र राजु दाहाल रहेका छन् । तदर्थ समितिले तीन महिनाभित्र समूहको विधान, कार्यविधि र नियमावली तयार गरी साधारण सभा बोलाउने निर्णय गरेको छ। संस्थालाई आर्थिक रूपमा सुदृढ बनाउन प्रारम्भिक चरणमा आजीवन सदस्यताका लागि प्रतिव्यक्ति १,००० रुपैयाँ संकलन गर्ने निर्णय पनि भेलाले गरेको छ।
तत्कालीन समयमा एस.एल.सी. दिने ८८ जना सहपाठीमध्ये हालसम्म ६ जनाको निधन भइसकेको जानकारी दिइयो। बाँकी ८२ जनामध्ये ७० भन्दा बढी सहपाठीहरू हाल सम्पर्कमा रहेको जनाइएको छ।

भेलाअघि सहपाठी प्रजापति (प्रज्वल) भारती शोकमा रहेकाले अन्नपूर्ण–३, माराइचेस्थित उहाँको घरमा पुगेर परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक सभा सम्पन्न गरिएको थियो। त्यसपछि सोही दिन आयोजना गरिएको बृहत् बनभोज कार्यक्रमलाई सहपाठी भेटघाटको अवसरका रूपमा परिणत गर्दै सुख–दुःख र जीवनका अनुभव आदान–प्रदान गरियो।

उक्त दिन सहपाठी विष्णुहरि शर्माको जन्मदिनसमेत परेकाले भेलामा जन्मदिन विशेष रूपमा मनाइँदा कार्यक्रम थप आत्मीय र उल्लासमय बनेको थियो।











