२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रको प्रवर्द्धन, ओझेलमा परेका गन्तव्यको पहिचान तथा देश–विदेशमा प्रचारप्रसारमा मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिए।

पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा पर्यटन व्यवसायीहरूले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि नेपाल पत्रकार महासंघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघअन्तर्गत गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको दुईदिने भेलाको अवसरमा शनिबार पोखरामा कार्यक्रम आयोजना गरिएको हो। पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको उल्लेख गर्दै पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका निर्णायक हुने बताए। पोखरा भ्रमण वर्ष–२०२५ सञ्चालनमा रहेको जानकारी दिँदै उनले आगामी दिनमा पनि पत्रकार महासंघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले ओझेलमा परेका तथा नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा मिडियाले ‘आवाजविहीनको आवाज’ बनेर महत्वपूर्ण भूमिका खेलेको बताए। पछिल्लो समय सामाजिक सञ्जाल, भ्लग र टिकटकसमेत पर्यटन प्रवर्द्धनका प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै उनले विश्व पर्यटन चलायमान हुनुमा करिब ७५ प्रतिशत योगदान मिडियाको रहेको तथ्य प्रस्तुत गरे। गण्डकीका सबै जिल्लाका पत्रकारसँग अन्तरक्रिया गर्ने अवसर मिलाइदिएकोमा महासंघप्रति आभार व्यक्त गर्दै उनले भने, “पर्यटन राजधानी पोखरामा यस्ता कार्यक्रम पहिलो हुन्, तर अन्तिम नहोस्।”

रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले आगामी साता हुने २७औँ पोखरा सडक महोत्सवको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए। यही पुस १३ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवले जाडोयाममा सुस्ताउने पोखराको पर्यटनलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै विगतझैँ यसपटक पनि मिडियाबाट व्यापक प्रचारप्रसारको अपेक्षा गरे।

टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले टान गण्डकीका ११ वटै जिल्लामा फैलिएको संस्था भएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा मिडियाबाट निरन्तर सहयोग पाइँदै आएको बताए। संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्दा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिँदै उनले ट्रेकिङ तथा हिमाली क्षेत्रमा हुने मानवीय क्षतिले नेपालकै पर्यटन बदनाम हुने भएकाले सबै पक्ष सचेत हुनुपर्ने बताए।

नाट्टाका महासचिव संगीता पौडेलले पर्यटन क्षेत्रमा ठूलो लगानी भए पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको गुनासो गरिन्। मिडियाले पर्यटन प्रवर्द्धनका विषयमा निरन्तर कलम चलाए गण्डकी प्रदेशको पर्यटनमा उल्लेख्य टेवा पुग्ने उनको भनाइ थियो।

प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलले पर्यटन क्षेत्र अत्यन्त संवेदनशील भएकाले मिडियाले सत्य, तथ्य र निष्पक्षताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने बताए। नकारात्मक सन्देशका कारण क्षणभरमै बुकिङ रद्द हुने अवस्था आउन सक्ने भएकाले पत्रकार थप जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरे।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतले पर्यटन प्रवर्द्धनका विषयमा महासंघ केन्द्र सधैँ सहकार्यका लागि तयार रहेको बताए।

कार्यक्रममा महासंघ केन्द्रीय सदस्य केवी राना, म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, तनहुँ अध्यक्ष डिपी अधिकारी, गण्डकीका निवर्तमान सचिव यदुनाथ बञ्जारा, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराललगायतले जिज्ञासा राखेका थिए।

महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले पोखरालाई केन्द्रमा राखेर प्रदेशभर पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गर्न मिडियाले सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष प्रकाश पौडेलले व्यक्त गरे भने सञ्चालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन महिला उपाध्यक्ष माया अधिकारीले गरे।

पत्रकार महासंघ गण्डकीको जिल्ला नेतृत्व भेला सम्पन्न, १० बुँदे पोखरा घोषणापत्र जारी

 नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे ‘पोखरा घोषणापत्र’ जारी गरेको छ।

घोषणापत्रमार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपाली पत्रकारिता गहिरो आर्थिक संकटमा परेको ठहर गर्दै मिडिया हाउसको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको उल्लेख गरिएको छ।

तीनै तहका सरकारले पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने माग घोषणापत्रमा गरिएको छ। प्रदेश र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति तथा सञ्चार कार्यविधि व्यावहारिक र सहज बनाउनुपर्नेमा जोड दिइएको छ।

नवयुवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न सुरक्षित आम्दानी, करियर विकास, तालिम र प्रविधिमा लगानी अपरिहार्य रहेको ठहर गर्दै मिथ्या तथा भ्रामक सूचनाको जोखिम न्यूनीकरणका लागि तथ्य जाँच र पेशागत आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

यस अवसरमा महासंघले पत्रकारका लागि ‘क्षमता अभिवृद्धि तालिम’समेत सञ्चालन गरेको छ। तालिममा पत्रकार भरत कोइरालाले ‘पत्रकारिताः चुनौती र नवीनता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

Read more

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…