1Shares

लेखनाथ, कास्की। लेखनाथ महोत्सव चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ। महोत्सवको बढ्दो रौनकसँगै स्टल सञ्चालकहरूको व्यापारमा पनि उल्लेखनीय वृद्धि भएको छ।

विशेषगरी जैविक कृषि उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापार फस्टाएको व्यवसायीहरूले बताएका छन्। स्थानीय तथा शुद्ध उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेपछि यस्ता स्टलहरूमा घुइँचो लागेको छ।

महोत्सव स्थलमा स्टल नं. २८ मा मुस्ताङकी पासाङ पहिलो पटक सहभागी भएकी हुन्। जिम्बु, टिमुर, हर्रो लगायतका जडीबुटी बिक्री गर्दै आएकी उनले दैनिक करिब १५ हजार रुपैयाँ बराबरको कारोबार भइरहेको बताइन्।

त्यस्तै, स्टल नं. ३५ का शीतल जडीबुटी सञ्चालक वैद्य जयबहादुर थापाले यस वर्ष पनि लाखौँ रुपैयाँ बराबरको व्यापार भएको जानकारी दिए। महिला उपभोक्ताको रोजाइमा पर्ने जैविक जडीबुटीको माग बढ्दो रहेको उनको भनाइ छ।

स्थानीय खाद्य तथा माछा व्यवसाय पनि महोत्सवमा फस्टाएको छ। बेगनास माछा पसलका सञ्चालक नारायण नेपालीका अनुसार दैनिक करिब ६० हजार रुपैयाँ बराबरको माछा बिक्री भइरहेको छ। स्मार्ट बहुउद्देश्यीय कृषि फर्मले स्थानीय खाद्यान्नबाट दैनिक करिब ५० हजार रुपैयाँ बराबरको कारोबार गरिरहेको जनाएको छ।

दुग्धजन्य पदार्थ र फलफूलको व्यापार पनि आकर्षक देखिएको छ। तालचोक डेरीले दैनिक २५ हजार रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको छ भने गुरुङ फलफूल पसलमा सुन्तला तथा अन्य फलफूलको बिक्री राम्रो भएको छ।

प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार चौथो दिन मात्र महोत्सवमा एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने करिब २५ हजार दर्शकले अवलोकन गरेका छन्।

आइतबार विभिन्न महिला समूह, विद्यालय तथा कलाकारहरूद्वारा लोकदोहोरी, सांगीतिक र नृत्य प्रस्तुतिहरू भएका थिए। महोत्सवले स्थानीय उत्पादन र साना व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको व्यवसायी तथा आयोजकहरूको भनाइ छ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected