
लेखनाथ, ९ पुस । कास्कीको लेखनाथमा पुस ३ गतेदेखि जारी २१औँ संस्करणको लेखनाथ महोत्सव महोत्सवस्थल कनिबेचको केन्द्रमै व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै गएको छ।
महोत्सवमा मनोरञ्जनका कार्यक्रमसँगै घरायसी प्रयोजनका स्वदेशी तथा विदेशी सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध हुने भएकाले महोत्सवस्थल दर्शक तथा उपभोक्ताको आकर्षणको केन्द्र बनेको हो। महोत्सव अवलोकन गर्न आएका दर्शकहरू घर फर्कँदा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रम बढेपछि अघिल्ला दिनको तुलनामा व्यापारिक कारोबार वृद्धि भएको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि विस्ताकोटीले जानकारी दिनुभयो।
महोत्सवमा राखिएका करिब ३ सय ३६ फरक–फरक प्रकृतिका स्टलहरूमा दैनिक उपभोग्य सामग्रीदेखि विविध वस्तुहरू उपलब्ध छन्। आफूले खोजेको र रोजेको सामान सुपथ मूल्यमा पाएको भन्दै दर्शकहरू सन्तुष्ट देखिन्छन् भने व्यापार बढेकामा व्यवसायीहरू पनि उत्साहित भएका छन्।
स्वदेशमै उत्पादित वस्तुको बिक्री–वितरण केन्द्रका रूपमा महोत्सव स्थापित भएकाले उपभोक्ताले प्रत्यक्ष रूपमा उत्पादकसँग सामान खरिद गर्न पाएका छन्, जसका कारण सहुलियत मूल्यमा कारोबार भइरहेको छ।
पुस १४ गतेसम्म सञ्चालन हुने महोत्सव सातौँ दिनमा प्रवेश गर्दा बुधबार मात्र करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। हालसम्म कुल ६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भइसकेको स्टलस्तरको सर्वेक्षणले देखाएको महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिनुभयो। बुधबार मात्र १७ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने हालसम्म १ लाख ९० हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन्।
अनुकूल मौसमका कारण मध्यान्हपछि दर्शकको चाप बढ्दो देखिएको छ। महोत्सव सकिन अझै केही दिन बाँकी रहेकाले आगामी दिनमा दर्शक संख्या थप वृद्धि हुने अपेक्षा गरिएको छ।
महोत्सवको सातौँ दिन कलाकारहरू रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जिसी, रियालिटीमाया खड्का तथा बन्दना परिवारले प्रस्तुति दिएका थिए। साँझको कन्सर्टमा गायक अर्जुन सापकोटा, सहमिता श्रेष्ठलगायत स्थानीय कलाकारहरूको प्रस्तुतीले स्टेज तताएको थियो।
गाडीदेखि गार्मेन्टसम्म र माछादेखि महसम्म एकै स्थानमा उपलब्ध भएकाले महोत्सवलाई उत्पादक र उपभोक्ताको संगमस्थलका रूपमा लिइएको छ। लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित यो महोत्सव गण्डकी प्रदेशकै नमुना तथा ऐतिहासिक महोत्सवका रूपमा परिचित भइसकेको संघका पूर्व अध्यक्ष छत्रधर आत्रेयले बताउनुभयो।








