हेम्जा आवासीय विद्यालयमा अभिभावक–विद्यालय सहकार्य सुदृढ गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न


पोखरा । हेम्जा आवासीय विद्यालय, पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड टेक पोखराको सहकार्यमा सम्पन्न कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण भक्तराज रसाइलीले गरेका थिए । विद्यार्थीहरूको पठन–पाठन, दैनिकी, शैक्षिक उपलब्धि, नैतिक आचरण, व्यवहारिक सीप तथा मानसिक विकासलाई थप प्रभावकारी बनाउने र विद्यालय तथा अभिभावकबीचको सहकार्य मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल केशब शरण पौडेलले जानकारी दिए ।
‘विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अभिभावक, शिक्षक र विद्यालयको साझा दायित्वबोध आवश्यक छ,’ प्रिन्सिपल पौडेलले भने, ‘यस कार्यक्रमबाट सकारात्मक उपलब्धि हासिल हुनेमा विद्यालय परिवार आशावादी छ।’
अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले उनीहरूलाई नयाँ ज्ञान, सीप तथा व्यवहारिक समाधान दिन कार्यक्रम प्रभावकारी भएको विद्यालयको विश्वास छ । कार्यक्रमले अभिभावक र विद्यार्थीमा देखिने नकारात्मक आचरण न्यूनीकरण गरी असल बानी–व्यवहार, जिम्मेवारीपन र सकारात्मक सोच विकासमा टेवा पुग्ने अभिभावकले बताएका छन् ।
कार्यक्रमबाट आफूले सिकेका कुरा व्यवहारमा उतारेर बालबालिकालाई मार्गदर्शन गर्न सहज हुने भन्दै अभिभावकहरूले विद्यालयको पहलप्रति खुशी व्यक्त गरेका थिए । समाजमा बढ्दो अराजकता र खराब बानी–व्यवहारको अन्त्य गर्दै असल नागरिक निर्माणमा यस्ता कार्यक्रमले प्रेरणा दिने उनीहरूको भनाइ थियो ।
विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समय–समयमा विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै, यस अभिमुखीकरणले विद्यार्थीलाई हौसला प्रदान गर्नुका साथै अभिभावकलाई थप जिम्मेवार बनाउने विश्वास लिइएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै भक्तराज रसाइलीले शिक्षा र संस्कारले विद्यार्थीलाई जीवनका सबै क्षेत्रमा सक्षम बनाउने बताए । ‘असल संगत, सकारात्मक वातावरण तथा विद्यालय र अभिभावकबीचको सहकार्यबाट मात्र असल विद्यार्थी निर्माण सम्भव हुन्छ,’ उनले भने, ‘यस्तो वातावरण सिर्जना गर्ने जिम्मेवारी विद्यालय, शिक्षक र अभिभावक सबैको हो।’
कार्यक्रम शिक्षक–अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।






सम्बन्धित खवर
















