7Shares

पोखरा। अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखराले आयोजना गर्न लागेको २७औँ पोखरा सडक महोत्सव का लागि लेकसाइड क्षेत्र आकर्षक रूपमा सजाइएको छ । रेवान पोखराले यही पुष १३ गतेदेखि १७ गतेसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

कोमागाने पार्कमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवबारे औपचारिक जानकारी दिएको हो। पर्यटकीय राजधानी पोखराको लेकसाइड यतिबेला दुलहीझैँ सिंगारिएको पनि छ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल का अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित लेकसाइडको खहरेदेखि अम्बोटसम्म करिब साढे तीन किलोमिटर क्षेत्र महोत्सव स्थलका रूपमा रहनेछ।

महोत्सवमा पोखरा आसपासका स्थानीय उत्पादन लाई प्राथमिकतामा राख्दै हस्तकला, चित्रकला, मूर्तिकला, कृषि तथा वनस्पतिजन्य उपजको प्रदर्शनी गरिनेछ। साथै पोखराका साहसिक पर्यटन गतिविधि समेटिएका वृत्तचित्र प्रदर्शन तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन पनि गरिने रेवानका महासचिव बिरेन्द्र शेरचनले जनाए ।

रेवान पोखराका उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतमले विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा र झाँकी प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको स्वाद, लाइभ कन्सर्ट तथा डुंगा दौड, वेटर रेस, डोरी तान्ने, मःम र ससेज खाने प्रतियोगितालगायत कार्यक्रमहरू महोत्सवका मुख्य आकर्षण रहने जानकारी दिनुभयो। सचेतनामूलक सडक नाटक र सेल्फी फोटो बुथ पनि रहनेछन्।

महोत्सवको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाउँदै रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले सबै सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।

यस वर्षको न्यू इयर इभ अर्थात् पुष १६ गते एक्स नेपथ्य, उज्जन शाक्य, डिमर्चा, लेकाली र देउराली ब्याण्डको लाइभ सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected