10Shares

लेखनाथ, ११ पुस । लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका दृष्टिले उल्लेखनीय सफलताका साथ अघि बढिरहेको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्।

महोत्सव सञ्चालनको नवौँ दिनसम्म आइपुग्दा आयोजकले तय गरेको लक्ष्यअनुसार दर्शक सहभागिता पुगेको छ भने कारोबारमा निरन्तर वृद्धि हुँदा आयोजकहरू उत्साहित बनेका छन्। विदाका दिनमा मात्रै करिब ४० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए भने हालसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार पुगेको छ।

आर्थिक कारोबारतर्फ दैनिक करिब एक करोड रुपैयाँ बराबरको कारोबार भइरहेको आयोजकले जनाएको छ। केही दिनमै महोत्सवमार्फत करोडौँ रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना भइसकेको छ। कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपंक्षीसम्बन्धी स्टलहरूमा उल्लेखनीय कारोबार भइरहेको छ। विशेषगरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका लागि मुख्य आकर्षण बनेका छन्।

यस वर्ष महोत्सवलाई परिष्कृत स्वरूप दिँदै कृषि बहस र उद्योग बहस कार्यक्रमसमेत आयोजना गरिएको छ। कृषि बहसमा माछापालन, अलैंची खेती र पोल्ट्री व्यवसायमा संलग्न कृषकहरूले आफ्ना अनुभव र चुनौती साझा गरेका थिए। उद्योग बहसमा विभिन्न उद्योगीहरूले व्यवसायिक संघर्ष र सफलताका कथाहरू प्रस्तुत गर्दै नीति निर्माता र सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका छन्। यसले महोत्सवलाई मनोरञ्जनसँगै ज्ञान र बहसको प्रभावकारी मञ्चका रूपमा स्थापित गरेको छ।

सांस्कृतिक, साहित्यिक र शैक्षिक कार्यक्रमहरू पनि महोत्सवका थप आकर्षण बनेका छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रमअन्तर्गत शनिबार अभिनन्दन कार्यक्रम आयोजना गरिँदैछ। विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम संगीत तथा लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

वि.सं. २०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भइसकेको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवद्र्धन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।

महोत्सव अझै तीन दिन सञ्चालन हुने भएकाले दर्शक संख्या र आर्थिक कारोबार थप वृद्धि हुने अपेक्षा गरिएको छ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected