67Shares

पोखरा । कालिका बहुमुखी क्याम्पसका संस्थापक सञ्चालक समिति अध्यक्ष, प्रतिष्ठित उद्योगपति, समाजसेवी तथा शिक्षा–सेवी स्वर्गीय सूर्यबहादुर केसीको अर्धकदको सालिक अनावरण गरिएको छ। पोखरा महानगरपालिका वडा नं. १४, काजी पोखरीस्थित क्याम्पस परिसरभित्र क्याम्पसको ३४औँ वार्षिकोत्सव, भवन उद्घाटन, सालिक अनावरण तथा पुरस्कार वितरण समारोहको अवसरमा सालिक अनावरण गरिएको हो।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सूर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक एवं सञ्चालक समितिका पूर्व अध्यक्ष स्व. केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा स्व. केसीका छोरा किरण केसी, छोराहरू प्रकाश केसी र रोशन केसी तथा क्याम्पस प्रमुख सह–प्राध्यापक विरञ्जी गौतमले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन्।

क्याम्पस स्थापना कालदेखि नै शैक्षिक उन्नयन तथा भौतिक पूर्वाधार विकासमा स्व. केसीले पुर्‍याएको योगदानको उच्च कदर गर्दै चिरस्मरणीय बनाउने उद्देश्यले क्याम्पस परिसरमा सालिक स्थापना गरिएको क्याम्पस प्रशासनले जनाएको छ। स्व. केसीको पहलमा क्याम्पसले भौतिक निर्माण र शैक्षिक सुधारमा उल्लेखनीय प्रगति गरेको थियो।      

दक्षिण एसियामै पहिलोपटक चाउचाउ उत्पादन सुरु गर्ने श्रेय स्व. केसीलाई जान्छ। उनले हिम श्री फुड्स प्रालि स्थापना गरी पोखराबाट ‘रारा चाउचाउ’ उत्पादन सुरु गरेका थिए। निर्माण व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका केसीले बैंकिङ, रियल स्टेट, जलविद्युत् र खाद्य उद्योग क्षेत्रमा समेत उल्लेखनीय लगानी गरेका थिए।

वि.सं. २०१४ साल जेठ १० गते पोखरामा जन्मिएका केसी २०४१ देखि २०४६ सालसम्म तत्कालीन पोखरा पञ्चायतका प्रधानपञ्च निर्वाचित भएका थिए। लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका उनी पहिलो संविधानसभा निर्वाचनमा राप्रपाबाट समानुपातिक सांसद बनेका थिए। पछि प्रतिनिधिसभा निर्वाचनको मुखमा नेपाली कांग्रेस प्रवेश गरी समानुपातिक सांसद बनेका केसीको २०७७ साल कात्तिक १७ गते ६५ वर्षको उमेरमा निधन भएको थियो।

कार्यक्रममा वक्ताहरूले स्व. केसीलाई सामाजिक उत्तरदायित्व बोकेको सफल व्यवसायी, सहयोगी भावना भएका र शिक्षा क्षेत्रप्रति समर्पित व्यक्तित्वका रूपमा स्मरण गरे।        

कीर्ति पुस्तकालय भवन पनि उद्घाटन

सोही अवसरमा स्व. कीर्तिबहादुर केसीको स्मृतिमा, संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर केसीको परिवारद्वारा स्थापित सूर्यप्रेम ट्रस्टको आर्थिक सहयोगमा निर्माण गरिएको कीर्ति पुस्तकालय भवनको समेत उद्घाटन गरिएको छ।

३ करोड २६ लाख २८ हजार ५ सय २० रुपैयाँ लागतमा निर्माण सम्पन्न उक्त बहुउद्देश्यीय भवनको डिन प्रा.डा. महानन्द चालिसे, प्रेमकुमारी केसी, किरण केसी, प्रकाश केसी, रोशन केसी तथा क्याम्पस प्रमुख गौतमले संयुक्त रूपमा उद्घाटन गरेका थिए। भवन उद्घाटनपछि केसी परिवारले डिन चालिसेलाई र उनले क्याम्पस प्रमुख गौतमलाई भवन हस्तान्तरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि डिन प्रा.डा. चालिसेले क्याम्पस आजको स्थानमा स्थापित हुन स्व. सूर्यबहादुर केसीको भूमिका सदैव स्मरणीय रहने उल्लेख गरे।

“क्याम्पसको हरेक क्षेत्रमा सबलता ल्याउन स्व. केसीको योगदान ठूलो छ,” उनले भने, “उहाँकै पदचाप पछ्याउँदै उहाँका छोराले युवा जोसका साथ नेतृत्व सम्हाल्नु क्याम्पसका लागि सौभाग्यको विषय हो।”

क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीले बुबाको सम्मानमा सालिक निर्माण गर्न पाउँदा परिवार गौरवान्वित भएको बताउँदै क्याम्पसलाई समयसापेक्ष र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा डम्बर–मोहन गरिब छात्रवृत्ति अक्षयकोषका लागि डम्बरकुमारी गुरुङ र छोरा मोहन गुरुङले २ लाख ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए।

क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सहायक क्याम्पस प्रमुख सालिकराम तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए। समारोहमा पुरस्कार वितरणसँगै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

67Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected