
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित तमु गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ। पालिका अध्यक्ष विष्णुबहादुर केसीको नेतृत्वमा जनप्रतिनिधि तथा सरोकारवालाको टोलीले किसानसँग प्रत्यक्ष छलफल गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
करिब ४४ घरधुरी रहेको उक्त गाउँमा करिब ३०० रोपनी क्षेत्रफलमा सुन्तला खेती सुरु भइसकेको छ। स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राख्दै किसानको खेतबारीमै पुगेर कार्यक्रम गर्दा किसानहरू खुसी देखिएका छन्।

पालिका अध्यक्ष विष्णुबहादुर केसी, नेपाल सरकारका सहसचिव विनोद कुवर, कार्यपालिका सदस्य भुपाल घर्ती, खेलकुद विकास समिति सदस्य–सचिव अनिल कुवर तथा समाजसेवी नमराज केसी सहभागी टोलीले किसानसँग सुन्तला खेतीको विकास, समस्या र सम्भावनाबारे छलफल गरेको थियो।
छलफलका क्रममा अध्यक्ष केसीले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सुन्तला खेतीको विकासका लागि पालिका सधैं किसानको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल सरकारका सहसचिव विनोद कुवरले गाउँमै राम्रो सुन्तला उत्पादन भएको देख्दा आफू अत्यन्त खुसी भएको बताउँदै आगामी वर्षहरूमा अझै उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने ऊर्जामूलक कार्यक्रम आवश्यक रहेको धारणा राखे ।
कार्यपालिका सदस्य भुपाल घर्तीका अनुसार स्थानीय सरकार प्रमुख तथा नेपाल सरकारका उच्च अधिकारीहरू किसानको खेतबारीमै पुग्दा किसानहरू उत्साहित भएका छन्। उनले किसानहरूले उत्पादनको बजारीकरण, सिँचाइ तथा प्राविधिक सहयोगमा समेत पालिकाको साथको अपेक्षा राखेको जानकारी दिए ।
स्थानीय सरकारको सक्रियताले तमु गाउँलाई आगामी दिनमा कास्की जिल्लाकै नमुना सुन्तला उत्पादन क्षेत्रको रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।










