8Shares

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संघीयताको वास्तविक जग स्थानीय सरकार भएकाले त्यसको अनुभूति जनताले प्रत्यक्ष रूपमा गर्न पाउनुपर्ने बताएका छन्। स्थानीय तहका कर्मचारीहरू अझ बढी जिम्मेवार, जवाफदेही र परिणाममुखी हुनुपर्नेमा उनले जोड दिएका थिए ।

विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा सोमवार पोखरामा सम्पन्न विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापन सम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खरेलले संघीय शासन प्रणालीको सफल कार्यान्वयन स्थानीय सरकारको प्रभावकारितामै निर्भर रहेको बताए।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले संघियताको आधार स्थानीय सरकार भएकाले स्थानीय तहले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उल्लेख गरे। कर्मचारी मित्रहरू, तपाईंहरू बढी जिम्मेवार र जवाफदेही हुनुपर्छ, उनले भने, “हाम्रो आशा र भरोसाको जग स्थानीय सरकार नै हो।”

मन्त्री खरेलले निर्वाचनको सुनिश्चितता भइसकेको स्पष्ट गर्दै व्यक्ति केन्द्रित सोचभन्दा माथि उठेर राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे। “व्यक्ति बनेर केही हुँदैन, देश बन्नुपर्छ,” उनले भने, “यसका लागि विवेकशील, सक्षम र सही नेतृत्व आवश्यक छ।”

संघ र प्रदेशबीच देखिएको अस्थिरता औंल्याउँदै उनले संघीयताको व्यवहारिक कार्यान्वयन अझै सन्तोषजनक हुन नसकेको स्वीकार गरे। संघीय संरचनालाई प्रभावकारी बनाउन नीति, कानुन र कार्यान्वयनबीच सन्तुलन आवश्यक रहेको उनको भनाइ थियो।

विज्ञापन क्षेत्रको सन्दर्भमा मन्त्री खरेलले नीतिगत सुधारका लागि मन्त्रालयले सहजिकरण गर्ने प्रतिबद्धता जनाए। विज्ञापनको व्यवस्थापन, अनुगमन र नियमनका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोमा उनले जोड दिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले विज्ञापन ऐनअनुसार कानुनलाई सक्रिय बनाउनु आवश्यक रहेको बताइन्। सबै स्थानीय तहमा पालिका हुलाक कार्यालय सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै उनले यसको प्रभावकारिताका लागि स्थानीय तहको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन्।

नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने दिशामा बोर्ड निरन्तर लागिरहेको बताए। प्रदेश प्रमुख सचिव डुण्डुराज घिमिरेले विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले विज्ञापनसम्बन्धी विधि र मापदण्डमा एकरूपता ल्याउनुपर्नेमा जोड दिइन्। नेपाल विज्ञापन बोर्डकी प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सहजीकरण गरेको कार्यक्रममा सहभागिताको तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले धारणा राखेका थिए।

कार्यक्रममा गण्डकी प्रदेशभित्रका विभिन्न स्थानीय तहका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected