39Shares

लेखनाथ, १४ पुस । स्थानीय संस्कृति प्रवर्द्धन, स्वदेशी उत्पादनको विकास र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको २१औँ लेखनाथ महोत्सव ११ करोड २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । १२ दिनसम्म चलेको महोत्सवलाई ३ लाख ३५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्, जसले महोत्सवप्रति जनआकर्षण र व्यावसायिक सफलतालाई स्पष्ट पारेको छ ।

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नारासहित आयोजित महोत्सवले अपेक्षाभन्दा बढी आर्थिक उपलब्धि हासिल गरेको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए । आयोजकले नौ करोड रुपैयाँ कारोबार र दुई लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखेकोमा सो लक्ष्यलाई उछिनेको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उल्लेख गर्दै क्रेता र विक्रेतालाई एउटै थलोमा जोडेर वस्तु तथा सेवाको बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जेन्जी आन्दोलनका कारण व्यवसायीको मनोबल कमजोर बनेको अवस्थामा आर्थिक पुनरुत्थानका उपायमा गम्भीर चिन्तन आवश्यक रहेकोमा जोड दिए ।

प्रमुख आचार्यले बेगनासतालमा प्रस्तावित वाटर स्पोर्ट्स योजना तीन वर्षदेखि अघि बढ्न नसकेको बताउँदै ढिलाइ भइसकेकाले अब स्थानीयको साथ र सहकार्यमा योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए । पोखरा–मुग्लिन सडक निर्माण अन्तिम चरणमा पुगेकाले लेखनाथ–पोखराको दूरी घट्ने र विकासले थप गति लिने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मेला तथा महोत्सव आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै रुपा र पोखराको एकीकृत विकासका लागि साझा योजना निर्माण गर्नुपर्ने सुझाव दिए । वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रका सामाजिक संघसंस्था र व्यवसायीबीच सहकार्य गरेर दीर्घकालीन विकास योजना बनाउन आग्रह गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१औँ संस्करणसम्म आइपुग्दा महोत्सवले ‘महोत्सवकै महोत्सव’को पहिचान बनाएको बताइन् । उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्दै व्यापार, पर्यटन र सामाजिक एकताको प्रवर्द्धनमा महोत्सव सफल भएको उनको भनाइ थियो ।

समापन दिन स्टलहरूमा सामान केही सस्तो भएपछि किनमेल गर्ने दर्शकको संख्या बढेको र त्यसले कारोबारमा उल्लेख्य वृद्धि गरेको वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले बताए । महोत्सव अवधिभर विभिन्न विधामा उत्कृष्ट व्यवसायी, कलाकार र दर्शकलाई सम्मान गरिएको थियो ।

महोत्सवबाट प्राप्त बचत रकम प्रस्तावित औद्योगिक क्षेत्र निर्माण तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गरिने आयोजकले जनाएको छ । समापन कार्यक्रम संघका अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गरेका थिए ।

39Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected