
पुस १४, लेखनाथ। नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले “नेपाल कला यात्रा” पुस्तक प्रकाशनका लागि आयोजित ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल छैटौँ कला प्रदर्शनी’ २१औँ लेखनाथ महोत्सव–२०८२ अन्तर्गत सम्पन्न भएको छ।
“शान्ति, पर्यटन र कला प्रवर्द्धन” नारासहित आयोजित प्रदर्शनीमा कलाकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य नगेन सिंह द्वारा सिर्जित, नेपालको ७७ वटै जिल्लाका पर्यटकीय स्थल झल्काउने चित्रकलाहरू प्रदर्शन गरिएको थियो।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी ले “नेपाल कला यात्रा” पुस्तकलाई विश्वका १९७ भाषामा प्रकाशन गर्ने दीर्घकालीन लक्ष्य रहेको बताइन्। अभियानमा एक सय रुपैयाँ योगदान गरेर जो–कोही सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
हालसम्म १ हजार ८ सय १५ जना भन्दा बढी व्यक्ति अभियानमा सहभागी भइसकेका छन्। नेपाली भाषामा प्रकाशित भइसकेको उक्त पुस्तक विश्वका विभिन्न देशका विश्वविद्यालय तथा पुस्तकालयहरूमा मातृ भाषामै निःशुल्क वितरण गर्ने योजना रहेको आयोजकले जनाएका छन्।











