
पोखरा, १३ जनवरी।लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिनको अवसरमा पोखरामा मेल्भिन जोन्स दिवस मनाइएको छ। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय गुठी (एलसिआईएफमा) मा उल्लेखनीय योगदान पुर्याउने लायन्स सदस्यहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पाण्डेले लायन्सले “अरूको भलो गर” भन्ने मूल मन्त्र सिकाएको उल्लेख गर्दै मानवता, सेवा र निस्वार्थ नेतृत्वका प्रतीक मेल्भिन जोन्सको जीवनदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्। उनले लायन्स अन्तर्राष्ट्रियमा गरिएको योगदानको प्रतिफलस्वरूप २७ गुणाभन्दा बढी परियोजना सञ्चालन गर्न सफल भएको र सदस्यता संख्याका आधारमाडिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वमै अग्रस्थानमा रहेको उल्लेख गर्दै अझ धेरै गर्न बाँकी रहेको धारणा व्यक्त गरिन्।
डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले समाजसेवामा आधारित विश्वकै ठूलो सेवा संस्थामध्ये एक लायन्स क्लब्स इन्टरनेशनलको स्थापना र विस्तारमा मेल्भिन जोन्सको ऐतिहासिक योगदानको चर्चा गरे।
द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले मेल्भिन जोन्सको दूरदृष्टिले लायन्सलाई विश्वकै अग्रणी सेवा संस्थाका रूपमा स्थापित गरेको भन्दै आजको दिन सेवा, करुणा र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने संकल्प गर्न आग्रह गरे।
त्यसैगरी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बेसलले मानवले मानवलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यसहित स्थापना भएको लायन्स अन्तर्राष्ट्रियमा मेल्भिन जोन्सको योगदान अतुलनीय रहेको बताए।
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ रहमोहन सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट को–अर्डिनेटर तिलक प्रसाद तिवारीले सञ्चालन गरेका थिए।
मेल्भिन जोन्सको जन्म सन् १८७० जनवरी १३ मा अमेरिकाको एरिजोना टेरिटोरीको फोर्ट थोमसमा भएको थियो। “तपाईं अरूका लागि केही गर्न सुरु नगरेसम्म अगाडि बढ्न सक्नुहुन्न” भन्ने उनको जीवनदर्शनबाट प्रेरित भई स्थापना भएको लायन्स क्लब्स इन्टरनेशनल आज विश्वभर मानवसेवाको उज्यालो प्रतीक बनेको छ।






सम्बन्धित खवर














