
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधि, विधान र पद्दतिमा आधारित एकतासहित रुपान्तरणको यात्रामा प्रवेश गरेको घोषणा गर्नुभएको छ। विशेष महाधिवेशनपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उहाँले कांग्रेस अब कुनै व्यक्ति वा सिमित समूहको चाहनाले होइन, आम सदस्य र जनताको अपेक्षाअनुसार सञ्चालन हुने स्पष्ट पार्नुभएको छ।
सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको उल्लेख गर्दै संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्वाचन आयोगले गरेको निर्णयप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यो निर्णय नेपाली कांग्रेसका सदस्य, शुभेच्छुक तथा समर्थकहरूले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा उपलब्धि हो।
“अब कांग्रेस आफ्नो मूल जरामा फर्किएको छ, मूल्य, मान्यता र आदर्शमा आधारित पार्टी बनेको छ,” विज्ञप्तिमा उल्लेख छ। उहाँले विशेष महाधिवेशनमा सहभागी तथा असहमत सबै पक्षलाई जय–पराजयको मानसिकताबाट बाहिर निस्केर संयमित, जिम्मेवार र एकतावद्ध हुन आग्रह गर्नुभएको छ।
सभापति थापाले पार्टीमा अब गुटगत भागबण्डा नहुने दाबी गर्दै भुइँ तहका सदस्यदेखि केन्द्रीय सभापतिसम्म सबैको समान हैसियत हुने बताउनुभएको छ। “तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ,” उहाँले भन्नुभएको छ।
नेपाली कांग्रेस आम जनताको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै उहाँले देशभित्र र विदेशमा रहेका लाखौं शुभेच्छुकलाई रुपान्तरित कांग्रेस निर्माणमा साथ दिन अपील गर्नुभएको छ। विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गरिएको र उपलब्धिलाई समयानुकूल संस्थागत गर्ने संकल्प लिइएको उहाँको भनाइ छ।
सभापति थापाले अब कांग्रेस मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने, सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य हुने स्पष्ट पार्नुभएको छ। साथै, संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व कांग्रेसले लिने विश्वास व्यक्त गर्नुभएको छ।
विज्ञप्तिको अन्त्यमा उहाँले सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ। साथै, नवयुवा सहित सम्पूर्ण नेपाली जनतालाई समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन पुनः हार्दिक अपील गर्नुभएको छ।











