
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १४ औँ पोखरा महोत्सवमार्फत २५ सय रुपैयाँमै पोखरा–जोमसोम–मुक्तिनाथ दुईतर्फी यात्रा गराइने भएको छ । यात्रुका लागि एक छाक शाकाहारी खाना र खाजाको समेत निःशुल्क व्यवस्था गरिएको छ ।
पोखरा महोत्सव आयोजकले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीसँगको समन्वयमा विशेष छुटसहित उक्त सेवा उपलब्ध गराएको हो । सामान्यतया एकतर्फी मात्रै १८ सय रुपैयाँ लाग्ने पोखरा–मुक्तिनाथ यात्रालाई महोत्सव अवधिभर दुईतर्फी २५ सय रुपैयाँमै व्यवस्था गरिएको पोखरा महोत्सवका अतिरिक्त क्रियाकलाप संयोजक गणेश खड्काले जानकारी दिए ।
१६ सिट क्षमताको ईभी हाइसमार्फत आरामदायी यात्रा प्रदान गरिनेछ । सेवामा सहभागी हुन इच्छुक यात्रुले पोखरा महोत्सवको सचिवालयमा नाम दर्ता गर्नुपर्नेछ । बस बिहान ४ बजे पोखराबाट प्रस्थान गर्ने र साँझ ८ बजे पोखरा फर्किनेछ ।
यात्राका क्रममा खाना तथा खाजाको व्यवस्था महोत्सव आयोजक युनाइटेड क्लबले मिलाएको संयोजक खड्काले बताए । उनका अनुसार एकै स्थानबाट दुई वा सोभन्दा बढी यात्रु भएमा घरघरबाट पिकअप तथा ड्रपको समेत व्यवस्था गरिएको छ ।
महोत्सवको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । दर्शकको चहलपहलसँगै महोत्सवमा राखिएका स्टलहरूको कारोबारसमेत वृद्धि भएको अर्थ तथा स्टल व्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए ।
पाँचौँ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । सोही दिन जीवन दाहाल, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, टेक क्षेत्री, इन्द्रा गुरुङ, निश्चल थापा मगर, बिनिता क्षेत्रीलगायतले प्रस्तुति दिएका थिए । साँझको लाइभ कन्सर्टमा सुरताल ब्याण्ड र अनुप्रस्थाको प्रस्तुतिले युवाहरूलाई झनै उत्साहित बनाएको थियो ।
महोत्सवको छैटौँ दिन लोकदोहोरीतर्फ समीक्षा अधिकारी, राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईंलगायतको प्रस्तुति रहनेछ । साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुति रहने महोत्सव प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।






सम्बन्धित खवर
















