
‘ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका’ – उपाध्यक्ष श्रेष्ठ
काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित ‘ग्रामीण अर्थतन्त्रबारे छलफल’ कार्यक्रममा बोल्दै उनले स्थानीय सरकार स्थायी सरकार भएकाले ग्रामीण विकासमा प्रभावकारी ‘डेलिभरी’ दिन सक्ने बताए।
“स्थानीय सरकारले ग्रामीण विकासमा प्रत्यक्ष सेवा प्रवाह गर्न सक्छ। राष्ट्रिय योजना आयोगले पछाडि परेका स्थानीय तहलाई समपूरक बजेट उपलब्ध गराउँदै पिछडिएका बस्तीको विकासमा काम गरिरहेको छ,” उपाध्यक्ष श्रेष्ठले भने।
उनले विसं २०४६ को राजनीतिक परिवर्तनपछि ग्रामीण विकासले गति लिएको भए पनि माओवादी द्वन्द्वकालका कारण धेरै गाउँ उजाडिएको उल्लेख गरे। ग्रामीण विकासका लागि संघीयता महत्वपूर्ण कडी भएको उनको धारणा थियो।
कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले मुलुकले हालको जनसांख्यिक लाभलाई सदुपयोग गर्दै विकासमा केन्द्रित हुनुपर्ने बताए। उनले प्रत्येक वर्ष संघीयतामा एक खर्ब ७४ अर्ब रुपैयाँ खर्च भइरहे पनि त्यसअनुसारको प्रतिफल हासिल हुन नसकेको टिप्पणी गरे।
संविधानसभा सदस्य डा. खिमलाल देवकोटाले संघीयताले ग्रामीण क्षेत्रमा शक्ति बाँडफाँट, स्थानीय शासन सुदृढीकरण, पूर्वाधार विकास, वित्तीय हस्तान्तरण, कृषि आधुनिकीकरण, सामाजिक समावेशीकरण तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। महिला अधिकारकर्मी भारती सिलवालले ग्रामीण अर्थतन्त्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्।
२००६ सालको हलो क्रान्तिका नायक तथा पूर्व सांसद श्रीकान्त अधिकारीको यस वर्ष जन्मशताब्दी रहेको छ। स्वर्गीय अधिकारीले लमजुङको दुराडाँडामा ब्राह्मणले हलो जोतेर सामाजिक विभेदविरुद्ध अभियानको थालनी गरेका थिए। दुराडाँडामा जन्मिएका अधिकारीले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विकासमा उल्लेखनीय योगदान पुर्याएका थिए। उनी विसं २०१५ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद बनेका थिए।
जन्मशताब्दीको अवसरमा प्रतिष्ठानले आगामी २३ गते पोखरा महानगरपालिका–पचभैयास्थित सामुदायिक विद्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ। यसका अतिरिक्त विभिन्न कार्यक्रममार्फत श्रीकान्त अधिकारीको जन्मशताब्दी मनाइने प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले जानकारी दिइन्।
विसं १९८४ जेठ १३ गते जन्मिएका अधिकारीको विसं २०६९ कात्तिक ३० गते निधन भएको थियो। उनको स्मृतिमा विसं २०७३ फागुन ९ गते दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान स्थापना गरिएको हो।











